Butwal Today

रास्वपाले भदौ १ देखि ‘क्यान्डिडेट क्लब’ आवेदन खुला गर्दै , स्थानीय निर्वाचनको तयारी

१४ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ। पार्टीले भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ। रास्वपाका महामन्त्री विपीनकुमार आचार्य ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्थानीय तहसम्म राजनीतिक शुद्धीकरण, सुशासन र सक्षम नेतृत्व विकास गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको बताएका हुन्।

उनका अनुसार स्थानीय तह निर्वाचनलाई  चुनावी प्रतिस्पर्धाका रूपमा नभई इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने अभियानका रूपमा लिइएको छ। सोही उद्देश्यअनुसार उम्मेदवार छनोटको पहिलो चरणस्वरूप आवेदन आह्वान गर्न लागिएको उनले उल्लेख गरेका छन्।रास्वपाले परम्परागत उम्मेदवार छनोट प्रणालीभन्दा फरक लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक र आधुनिक मूल्याङ्कन प्रणाली अपनाउने जनाएको छ। उम्मेदवार छनोटसम्बन्धी मापदण्ड, मूल्याङ्कन प्रणाली र प्रक्रियाबारे पार्टीभित्र छलफल तथा सुझाव सङ्कलन भइरहेको पनि आचार्यले जानकारी दिएका छन्।

पार्टीका अनुसार ‘क्यान्डिडेट क्लब’मा सहभागी हुने इच्छुक व्यक्तिहरूको योग्यता, नेतृत्व क्षमता, जनसम्बन्ध, नैतिकता तथा सार्वजनिक उत्तरदायित्व का आधारमा मूल्याङ्कन गरी अन्तिम उम्मेदवार छनोट गरिनेछ। रास्वपाले ‘क्यान्डिडेट क्लब’लाई आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने प्रक्रियामा मात्र सीमित नराखी संगठन विस्तार र दीर्घकालीन रूपमा सक्षम स्थानीय नेतृत्व उत्पादन गर्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?