Butwal Today

रोट्याक्ट क्लब अफ सेन्ट्रल बुटवलको प्रेसिडेन्टमा निशान भुसाल निवार्चित

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

बुटवल । रोट्याक्ट क्लब अफ सेन्ट्रल बुटवल २६-२७ का प्रेसिडेन्ट निशान भुसाल निवार्चित भएका छन । वर्ष २०२६–२७ का प्रेसिडेन्ट रोट्याक्टर निशान भुसालले ११ औँ प्रेसिडेन्टका रुपमा पदभार ग्रहण गर्दै आफ्नो एकवर्षे कार्ययोजना सार्वजनिक गरेका छन्। पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा बोल्दै प्रेसिडेन्ट भुसालले नेतृत्व पद प्राप्त गर्नु मात्रै हैन केवल जिम्मेवारी हस्तान्तरण नभई समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी अझ बढेको बताए।

उनले आफ्नो कार्यकालमा ‘ टुगेदर फर सर्भिसटुगेदर फर ईम्पयाक्ट ’ लाई मुख्य थिमका रूपमा अघि बढाइने जानकारी दिए। युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन, साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम, सामाजिक सेवाका अभियान तथा समुदायसँग प्रत्यक्ष जोडिने विविध कार्यक्रम सञ्चालन गरिने उनले बताए। प्रेसिडेन्ट भुसालले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का लक्ष्य, नीति तथा कार्यक्रमप्रति क्लब पूर्ण रूपमा प्रतिबद्ध रहने उल्लेख गर्दै सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मुन्जु भुसालले युवा नेतृत्व विकास र सामाजिक सेवामा रोट्याक्ट क्लबले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन्। उनले युवाहरूलाई समाज परिवर्तनका संवाहकका रूपमा अघि बढ्न आग्रह गर्दै सेवा, नेतृत्व र नवप्रवर्तनमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन रोट्याक्टजस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्।

विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी ले स्थानीय सरकार र युवामुखी सामाजिक संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताइन्। उनले रोट्याक्ट क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सेवाका क्षेत्रमा गर्दै आएका अभियानले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन शुभकामना व्यक्त गरिन्।

रुपन्देहीका प्रहरी प्रमुख ९एसपी० जनक शाही ले पछिल्लो समय साइबर अपराध, लागुऔषध दुव्र्यसन तथा सामाजिक विकृतिविरुद्ध युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले सचेतना अभिवृद्धि, सामाजिक उत्तरदायित्व र नागरिक–प्रहरी सहकार्यलाई सुदृढ बनाउन रोट्याक्ट क्लबजस्ता संस्थासँग सहकार्य आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी, निवर्तमान अध्यक्ष लोकनाथ भट्टराई ले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए। उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहकार्य गर्ने संस्थाप्रति आभार व्यक्त गरे।

कार्यक्रममा क्लबले विगतका वर्षहरूमा सञ्चालन गरेका सामाजिक अभियानहरूको पनि स्मरण गरिएको थियो। क्लबले गौतमबुद्ध मुटु अस्पताल मा उपचारका लागि आउने बिरामी तथा उनका आफन्तलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने उद्देश्यले सन् २०१७ मा निःशुल्क बस सेवा सञ्चालन गर्दै अस्पताललाई बस हस्तान्तरण गरेको उल्लेख गरिएको थियो। उक्त अभियानले आर्थिक रूपमा कमजोर बिरामी तथा सेवाग्राहीलाई ठूलो राहत पुगेको बताइएको छ। त्यसैगरी, क्लबले यस बर्ष केउली विद्यालयकी छात्रा अनुष्का घर्ती मगरलाई छात्रवृत्ति प्रदान गरी शिक्षामा सहयोग पुर्‍याएको जानकारी दिइयो। कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरूलाई सम्मान गर्दै संस्थाको विकास र सामाजिक सेवामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको थियो।

कार्यक्रममा रोटरी तथा रोट्याक्टका नवनिर्वाचित पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले रोट्याक्ट क्लब अफ सेन्ट्रल बुटवलले आगामी दिनमा पनि समुदायमुखी सेवा, युवा नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?