© 2026
नवलपरासी । करिब २५ वर्षअघि पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ (साविक मनरी गाविस) मा केही महिलालाई सङ्गठित गरी सामान्य बचत गर्ने अभियान सुरु गर्दा रमा सिंह थारुले आजको अवस्था कल्पनासमेत गरेकी थिइनन् ।
त्यति बेला महिलाको भूमिका घरधन्दा, बालबालिकाको हेरचाह र खेतीपातीमा सीमित थियो । तर, त्यही सानो महिला समूह आज हजारौँ महिलाको आर्थिक आधार बनेको सफल सहकारीमा रूपान्तरण भएको छ ।
महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक रमा सिंह थारुका अनुसार सुरुमा महिलालाई बचत गर्ने बानी बसाल्ने, दुःख–सुख साट्ने र अधिकारबारे सचेत गराउने उद्देश्यले गठन भएको समूह अहिले महिलाको आर्थिक सशक्तीकरणको मुख्य माध्यम बनेको छ ।
हाल महिला मात्रै सेयर सदस्य रहेको यस सहकारीमा एक हजारभन्दा बढी महिला आबद्ध छन् । सहकारीले पाँच महिलालाई प्रत्यक्ष रोजगारी दिएको छ भने हजारौँ सदस्यलाई सहुलियतपूर्ण कर्जा, बचत, रेमिट्यान्स तथा सहकारी पसलमार्फत सेवा प्रदान गर्दै आएको छ ।
रमाका अनुसार सहकारी स्थापना भएपछि महिलाले ऋणका लागि साहुको घर धाउनुपर्ने वा बैङ्कको जटिल प्रक्रिया भोग्नुपर्ने बाध्यता हटेको छ । त्यसैले सदस्यहरूमा सहकारीप्रतिको विश्वास र अपनत्व बढ्दै गएको उनी बताउँछिन् ।
सहकारीले आर्थिक वर्ष २०८१/८२ मा १४ करोड ३९ लाख रुपैयाँभन्दा बढी कारोबार गर्दै करिब ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षमा कारोबार १६ करोड ५९ लाख रुपैयाँ पु¥याउने लक्ष्यसहित संस्थाले करिब ६६ लाख रुपैयाँ खुद नाफा गर्ने लक्ष्य लिएको छ ।
संस्थाकी अध्यक्ष प्रेमकुमारी चौधरीले अब महिलालाई आर्थिक रूपमा मात्र होइन, सीप, नेतृत्व र गुणस्तरीय जीवनशैलीतर्फ पनि अघि बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । “आम्दानीसँगै त्यसको सही व्यवस्थापन, परिवारको जीवनस्तर सुधार र पुस्तान्तरणसम्म सोच्ने क्षमता विकास गर्न तालिम आवश्यक छ,” उनले भनिन् ।
यसै उद्देश्यका लागि सहकारीले आफ्नै तालिम हल निर्माण गरिरहेको छ । सहकारी शिक्षा कोष र सामुदायिक विकास कोषलाई अझ प्रभावकारी रूपमा परिचालन गरी महिला उद्यमशीलता, नेतृत्व विकास र सीपमूलक तालिम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिइन् ।
जिल्ला सहकारी सङ्घका कोषाध्यक्ष हैदर अली मोमिनले महिला जागरण बहुउद्देश्यीय सहकारीलाई जिल्लाकै नमुना महिला सहकारीका रूपमा उल्लेख गर्दै लुम्बिनी प्रदेश सरकारले एक लाख रुपैयाँ नगदसहित सम्मान गरिसकेको जानकारी दिए । महिलाले सहकारीमार्फत आर्थिक र सामाजिक परिवर्तन सम्भव छ भन्ने उदाहरण यस संस्थाले प्रस्तुत गरेको उनको भनाइ छ ।
लगानीका हिसाबले सहकारीले सबैभन्दा बढी कृषि तथा पशुपालन क्षेत्रमा ६ करोड ३७ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । व्यापार व्यवसाय, वैदेशिक रोजगार, शिक्षा, घरजग्गा तथा हायर पर्चेज क्षेत्रमा पनि लगानी विस्तार गरिएको छ ।
रेमिट्यान्स सेवासमेत सञ्चालनमा ल्याइएकाले वैदेशिक रोजगारीबाट आउने रकमलाई बचत र कर्जा व्यवस्थापनसँग जोड्न सहज भएको व्यवस्थापक रमा सिंह थारुले बताए ।
ग्रामीण महिलाको सामान्य बचत अभियानबाट सुरु भएको महिला जागरण बहुउद्देश्यीय सहकारी आज आर्थिक सशक्तीकरण, स्वरोजगार र ग्रामीण समृद्धिको सफल नमुनाका रूपमा स्थापित भएको छ ।