Butwal Today

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

भद्रपुर (झापा) । झापाको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन राखिएको नाङ्गो विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी श्रीमती अन्दाजी ६५ वर्षीया सनज्योति लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान करिब ९ बजे नाङ्गो विद्युतीय तार छोएपछि उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

बुहारी सविता खड्काले करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि बिहान करिब ११ बजे प्रहरी चौकी महेशपुरमा खबर गरेकी थिइन् । सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक विशाल श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्दासम्म लिम्बूको मृत्यु भइसकेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच, झापाको मेचीनगर नगरपालिका–१० नागरडुब्बास्थित एक घरमा फ्रिजको तार सर्ट भएर आगलागी हुँदा करिब रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार आज बिहान स्थानीय लाल मोहम्मदको भान्साकोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडावर्तन, चामल, मिटर बक्स तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन ।

स्थानीयवासी, नेपाल प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?