Butwal Today

अन्तरविद्यालय लुडो प्रतियोगिता

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ  । नेपाल लुडो लिगद्वारा आयोजित अन्तरविद्यालय लुडो प्रतियोगिता–२०२६ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न भएको हो ।

प्रतियोगितामा जगत मन्दिर विद्यालयकी छात्रा रितिका मगर प्रथम, अरुणिमा शिक्षा सदनकी आर्यता देउजा द्वितीय तथा बेबिलोन विद्यालयका आभास साह तृतीय हुनुभएको आयोजकले जनाएको छ ।
साउन ९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा काठमाडौंका करिब ४० विद्यालयका ८० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आठ जना प्रतियोगीलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

ग्रान्ड फिनाले कार्यक्रममा प्याब्सन काठमाडौँ महानगर समितिका अध्यक्ष गगनसिंह ऐर, राष्ट्रिय क्रिकेट खेलाडी तिलकराज भण्डारी, विभिन्न क्षेत्रका प्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लुडो लिगका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले परम्परागत रूपमा खेलिँदै आएको लुडोलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक खेलका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । विद्यार्थी, विद्यालय, शिक्षक तथा अभिभावकको उत्साहजनक सहभागिताले पहिलो संस्करण अपेक्षाभन्दा सफल भएको उनको भनाइ थियो ।

उनले आगामी दिनमा लुडोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित देशव्यापी प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । साथै, प्रतियोगितालाई प्रविधिसँग जोड्ने उद्देश्यले लुडो लिग नामक मोबाइल अनुप्रयोग पनि सार्वजनिक गरिसकिएको उनले बताए ।

प्याब्सन काठमाडौँ महानगर समितिका अध्यक्ष गगनसिंह ऐरले लुडोजस्तो लोकप्रिय खेललाई विद्यालयस्तरमा व्यवस्थित र व्यावसायिक ढंगले आयोजना गर्नु सकारात्मक पहल भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीमा तार्किक सोच, रणनीतिक क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगितालाई सफल बनाउन प्याब्सन काठमाडौँ महानगरसँग सहकार्य गरिएको थियो। त्यसैगरी डिजिटल साझेदारका रूपमा साथी सोलुसन्स, उत्सव साझेदारका रूपमा काठमाडौँ अनलाइन केक सप तथा जलपान साझेदारका रूपमा श्री घः कुल्फीले सहयोग गरेका थिए । नेपाल लुडो लिगले आगामी दिनमा देशभर विद्यालय र खुला समूहलाई समेट्दै राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?