Butwal Today

केमिकल अभावले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

चितवन ।  बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावका कारण एक महिनादेखि प्रयोगशालाको सेवा ठप्प भएको छ । प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावका कारण केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा सञ्चालन गर्न नसकिएको बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा केमिकल खरिदका लागि विनियोजन गरिएको रु एक करोड ३५ लाख बजेटसमेत अपुग भएको थियो । रु २० लाख अभाव भएपछि प्रयोगशालाको सेवा बन्द गर्नुपरेको उनले बताए ।

कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा बन्द भएपछि प्रयोगशालामा बिरामीको सङ्ख्या पनि निकै घटेको जानकारी दिए । यसअघि दैनिक करिब १३० जना बिरामी आउने गरेको प्रयोगशालामा अहिले भने न्यून सङ्ख्यामा मात्रै बिरामी आउने गरेका छन् ।

“जिल्लामा यो प्रयोगशालालाई विश्वासिलो प्रयोगशालाका रूपमा लिने गरिन्छ,” उनले भने । आर्थिक वर्ष २०८३ र ८४ का लागि रु एक करोड पाँच लाख बजेट विनियोजन भएको छ । उक्त रकमबाट गत वर्षको बाँकी भुक्तानी गरेर मधुमेह, सिबिसी, युरिक एसिड र पिसाबका अत्यावश्यक परीक्षण मात्र सञ्चालन गरिने जनाइएको छ ।

बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुरमा उच्च गुणस्तरको सरकारी प्रयोगशाला आवश्यक रहेको बताए । यस प्रयोगशालाले गत आर्थिक वर्षमा करिब रु दुई करोड राजस्व सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?