© 2026
कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका–७, गणेशपुरस्थित श्री लौटनराम द्रोपती माविमा निर्माण गरिएको लैङ्गिक तथा अपाङ्गतामैत्री समावेशी शौचालय हस्तान्तरण गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कपिलवस्तु इन्टिग्रेटेड डेभलप्मेन्ट सर्विसेज (किड्स) ले सञ्चालन गरेको ‘सबल बालिका, सबल समुदाय’ परियोजनाको साझेदारी र विजयनगर गाउँपालिकाको समन्वयमा निर्मित समावेशी शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
प्लान नेपालकी क्षेत्रीय प्रबन्धक मीना पराजुली र किड्सका कार्यकारी निर्देशक कृष्णकुमार द्विवेदीले विद्यालयका प्रधानाध्यापक श्यामप्रकाश चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद यादवलाई गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाको रोहवरमा तीन कोठे समावेशी शौचालयको व्यवस्थापनको जिम्मेवारीसम्बन्धी प्रतिबद्धता पत्र हस्तान्तरण गरे ।
करिब १७ लाख ५० हजार ५ सय १० रुपैयाँको लागतमा निर्माण भएको शौचालय पूर्ण रूपमा लैङ्गिक तथा अपाङ्गतामैत्री समावेशिताको मान्यताअनुसार तयार पारिएको छ । निर्मित शौचालयको पहिलो कोठामा रहेको छात्रा शौचालयमा छात्राहरूका लागि उमेरअनुसार प्रयोग गर्न मिल्ने बेसिनसँगै सेनेटरी प्याड विसर्जन गर्न डिस्पोजर मेसिन जडान गरिएको छ ।
त्यसै गरी छात्रहरूले प्रयोग गर्ने शौचालयमा उमेरअनुसार प्रयोग गर्न मिल्ने साना र ठुला कक्षाका विद्यार्थी लक्षित प्यान र बेसिन राखिएका छन् । अपाङ्गता भएका विद्यार्थीका लागि ¥याम्पसहित अपाङ्गतामैत्री प्यान तथा बेसिनको व्यवस्था गरिएको छ, जसका कारण उनीहरूले ह्विलचेयरमै पुगेर सहज रूपमा शौचालय प्रयोग गर्न सक्छन् ।
शौचालयको दुवैतर्फ साना तथा ठुला विद्यार्थीको उचाइअनुसार धारा जडान गरिएको छ । शौचालय निर्माणमा गुणस्तरलाई प्राथमिकता दिँदै लैङ्गिक तथा अपाङ्गतामैत्री समावेशी शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको किड्सका कार्यकारी निर्देशक कृष्णकुमार द्विवेदीले बताए ।
उनका अनुसार ८४ लाख ६६ हजार रुपैयाँको लागतमा विजयनगर गाउँपालिकाका चार सामुदायिक विद्यालय र एक मदरसासहित पाँच विद्यालयमा बालमैत्री, लैङ्गिक तथा अपाङ्गतामैत्री समावेशी शौचालय निर्माण गरिएको हो ।
पालिकाको दायित्वभित्र पर्ने कार्यमा प्लान नेपाल र किड्स कपिलवस्तुले सहयोग गरेकोमा विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले धन्यवाद व्यक्त गरे । उनले पालिकाले शौचालय प्रयोग मात्र होइन, पूर्ण सरसफाइ अभियानलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको बताउँदै आनीबानी परिवर्तन अझै चुनौतीपूर्ण रहेको उल्लेख गरे ।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले दुवै संस्थाले उदाहरणीय सहयोग गरेको उल्लेख गर्दै निर्मित लैङ्गिक तथा अपाङ्गतामैत्री समावेशी शौचालयको उचित प्रयोग र व्यवस्थापनमा विद्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले सेनेटरी प्याड डिस्पोज गर्ने व्यवस्था तथा अपाङ्गतामैत्री संरचना उदाहरणीय रहेको बताउँदै शौचालय प्रयोगको बानी घरबाटै विकास गर्न समुदाय पनि सचेत हुनुपर्ने बताए ।
प्लान इन्टरनेशनलकी क्षेत्रीय प्रबन्धक मीना पराजुलीले हस्तान्तरण गरिएको शौचालयले सुरक्षित र स्वच्छ विद्यालय वातावरण निर्माण गरी गुणस्तरीय तथा समावेशी शिक्षा प्रवर्द्धन गर्न तथा बालिकाको विद्यालय छाड्ने दर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक श्यामप्रकाश चौधरीले सुविधा सम्पन्न तथा समावेशी शौचालयको सही प्रयोग र संरक्षणका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए । शौचालय हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मी, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।
निर्माण सम्पन्न भएका बाँकी चार शौचालय पनि सम्बन्धित विद्यालयलाई क्रमशः हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।