Butwal Today

धुले चट्टानसँग जुध्दै सडक डिभिजन

११ श्रावण २०८३, सोमबार
अ+
अ-

सल्यान  । राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडकखण्डको राम्रीस्थित सडकमाथि खस्किन थालेको ठुलो ढुङ्गा हटाउने काम पाँच दिनदेखि निरन्तर जारी छ ।

यात्रु, सवारीसाधन तथा सडकमुनिको राम्री बस्तीसमेत जोखिममा पर्न सक्ने अवस्था देखिएपछि सडक डिभिजन कार्यालय घोराहीले मेसिनमार्फत चट्टान फुटाउने कार्य अघि बढाएको हो ।

राम्री बजार नजिक रहेको ठुलो मूलको माथिल्लो भागमा अवस्थित उक्त चट्टानले आफ्नो पुरानो आधार छोडेर करिब पाँच मिटर तलतिर सरेपछि तत्काल जोखिम न्यूनीकरण आवश्यक थियो । प्रारम्भिक अनुमान अनुसार तीनदेखि चार दिनभित्र काम सकिने अपेक्षा गरिए पनि चट्टानको बनावटका कारण धेरै समय लाग्ने भएको हो ।

तुलसीपुर उपमहानगरपालिका, ३ का वडा सदस्य कर्णबहादुर बुढाका अनुसार चट्टान धुले प्रकृतिको भएकाले ब्रेकरले प्रहार गर्दा ठुलो भाग छुट्टिनेभन्दा साना साना टुक्रा मात्र फुट्ने गरेको छ । यही कारण अपेक्षाभन्दा बढी समय लागेको उनले बताए । उनका अनुसार अझै केही दिन काम जारी रहने सम्भावना रहेको छ ।

सडक डिभिजन कार्यालय घोराहीको समन्वय तथा कार्यालयकै आर्थिक व्यवस्थापनमा सल्यान–रुकुम सडक खण्ड स्तरोन्नति गरिरहेको पी.के. निर्माण सेवा प्रालिले एक्स्काभेटरमा जडान गरिएको ब्रेकर प्रयोग गरी साउन ६ गतेदेखि चट्टान फुटाउने कार्य सुरु गरेको हो । जोखिमपूर्ण अवस्थामा रहेको चट्टानलाई सुरक्षित रूपमा हटाउन सावधानीपूर्वक काम भइरहेको सम्बन्धित पक्षले जनाएको छ ।

काम भइरहेका बेला राप्ती लोकमार्गमा समय समयमा केहीबेर सवारी आवागमन रोक्ने गरिएको छ । चट्टान फुटाउँदा सडकमा खसेका ढुङ्गा र माटो तत्काल हटाएर सडक सफा गरिन्छ र त्यसपछि मात्रै पुनः यातायात सञ्चालन गरिन्छ ।

यसले यात्रुलाई केही समय असहज भए पनि सम्भावित ठुलो दुर्घटना रोक्नका लागि यस्तो व्यवस्था अपनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । जोखिमपूर्ण ढुङ्गा पूर्वतर्फ भगवती मन्दिर, पश्चिमतर्फ राप्ती लोकमार्ग, उत्तरतर्फ ठुलो मूल र दक्षिणतर्फ सार्वजनिक शौचालय रहेको क्षेत्रभित्र अवस्थित छ । ढुङ्गा बिस्तारै खस्किन थालेपछि स्थानीयवासीले लामो समयदेखि दुर्घटनाको जोखिम औँल्याउँदै यसको व्यवस्थापन गर्न माग गर्दै आएका थिए ।

जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट पनि आवश्यक पहल गरिएको थियो । वडा सदस्य बुढाले पटक पटक ध्यानाकर्षण गराएपछि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का र वडा नं. ३ का वडा अध्यक्ष वीरबहादुर विकले सडक डिभिजन कार्यालय घोराहीसँग आवश्यक समन्वय तथा संवाद गरेका थिए । त्यसपछि प्राविधिक टोलीको मूल्याङ्कन पछि ढुङ्गा हटाउने काम सुरु गरिएको हो ।

ढुङ्गा पूर्ण रूपमा हटाइएपछि राप्ती लोकमार्ग प्रयोग गर्ने यात्रु, दैनिक सञ्चालन हुने सवारीसाधन तथा सडकमुनि रहेको राम्री बस्तीको सम्भावित जोखिम हट्ने अपेक्षा गरिएको छ । हाल दाङ–सल्यान–रुकुम सडक खण्डका विभिन्न स्थानमा सडक स्तरोन्नतिको कामसमेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?