© 2026
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार बिहान शीतल निवासमा भेटवार्ता गरेका छन् । करिब एक घण्टा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।
भेटका क्रममा आङ्देम्बेले देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औँल्याउँदै कानुन निर्माण प्रक्रियामा संसद्को प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै, बाढी–पहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सबै पक्षबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए ।