© 2026
बुटवल। प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ।
मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित ८० वर्षीय ज्ञवालीको आइतबार राति ८ः४० बजे काठमाडौँस्थित बी एन्ड बी अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, शंकरनगरका स्थायी बासिन्दा ज्ञवाली अर्घाखाँचीको साबिक चिदिकाबाट बसाइँसराइ गरी रुपन्देहीलाई कर्मथलो बनाएका थिए। उनले नेपाली पत्रकारिता र शिक्षण क्षेत्रमा करिब छ दशकभन्दा लामो योगदान दिएका छन्।
नेपाली विषयका शिक्षकका रूपमा शान्ति नमुना माध्यमिक विद्यालयमा अध्यापनसँगै उनले २०२४ सालदेखि पत्रकारिता यात्रा सुरु गरेका थिए। मोफसल पत्रकारिताको कठिन समयमा रिपोर्टर, प्रुफरिडर, सम्पादकदेखि पत्रिका वितरणसम्मका जिम्मेवारी आफैँ निर्वाह गर्दै पत्रकारितालाई निरन्तरता दिएका उनी पछिल्लो समयसम्म पनि लेखनमा सक्रिय थिए।
राष्ट्रियता, लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक कलम चलाउने ज्ञवाली लुम्बिनी सन्देश साप्ताहिकका सम्पादक समेत रहेका थिए। उनले पत्रकारितालाई जनताको आवाजलाई शब्द दिने, राज्यका निर्णयमाथि प्रश्न उठाउने र समाजका पीडा उजागर गर्ने माध्यमका रूपमा व्याख्या गर्दै आएका थिए। पञ्चायती शासन, जनआन्दोलन, महाकाली सन्धि, माओवादी द्वन्द्व र लोकतान्त्रिक आन्दोलनजस्ता ऐतिहासिक घटनाक्रममा उनले जनपक्षीय दृष्टिकोणबाट निरन्तर लेखन गरे।
महाकाली सन्धिप्रति उनी स्पष्ट आलोचनात्मक धारणा राख्थे। यस विषयमा उनका धेरै विश्लेषणात्मक लेख प्रकाशित भएका थिए। विशेष गरी ‘बुलको पर्व’ शीर्षकमा प्रकाशित सामग्री निकै चर्चित बनेको थियो। समाजका सीमान्तकृत र आवाजविहीन समुदायका मुद्दा उठाउनु उनको पत्रकारिताको प्रमुख विशेषता मानिन्थ्यो।
पत्रकारितासँगै साहित्यिक क्षेत्रमा पनि उनको गहिरो रुचि थियो। साहित्यकार तथा पूर्व एमाले नेता मोदनाथ प्रश्रितसँगको निकटताले उनको भाषा र लेखन शैलीलाई थप सरल, प्रभावकारी र जनमुखी बनाएको उनका सहकर्मीहरू बताउँछन्।
पत्रकारितामा पुर्याएको विशिष्ट योगदानको कदर स्वरूप उनले नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक सेवा पदकसहित दर्जनौँ सम्मान प्राप्त गरेका थिए।
ज्ञवालीको जीवन एक व्यक्तिको सफल पत्रकारिता यात्रा मात्र नभई नेपाली मोफसल पत्रकारिताको सङ्घर्ष, निष्ठा, साहस र सामाजिक उत्तरदायित्वको जीवन्त इतिहासका रूपमा स्मरणीय रहनेछ।
स्वर्गीय ज्ञवालीका श्रीमती, एक छोरी, दुई छोरा तथा छ जना नातिनातिना छन्। उनका छोरा सागर ज्ञवालीका अनुसार सोमबार काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना ।