© 2026
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरू आज बिहान पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अभियुक्तहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ ।
यही साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्न पत्र बाहिरिएको थियो । प्रश्न पत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले पनि ‘साइबर ब्युरो’ लाई अनुसन्धान एवं कारबाहीका लागि पत्राचार गरेको थियो ।
आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्रा डा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ ।
समितिको सदस्यमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा छन् । समितिलाई छानबिन सात कार्य दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।