Butwal Today

मोबाइल नदिएको निहुँमा साथीकै हत्या

१० श्रावण २०८३, आइतबार
अ+
अ-

गण्डकी । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ ।

साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जन्मदिन मनाउने क्रममा साथीहरूले राति अबेरसम्म मदिरा सेवन गरेका थिए । घर फर्कने क्रममा मोबाइलको विषयमा विवाद भएपछि कुटपिट गरी थापाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले बताएका छन् ।

“लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरूबिच झगडा भएको देखिन्छ,” उनले भने, “कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा शव लुकाएर राखिएको अवस्थामा फेला परेको हो ।”

प्रहरी उपरीक्षक प्रसाईंका अनुसार जन्मदिन मनाउने क्रममा सात जना सहभागी भए पनि अन्य साथी घर फर्किएपछि रेमबहादुर विक र ददी परियारले लजिनलाई पछ्याउँदै एकान्त स्थानमा पुगेर आक्रमण गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट साउन १ गते राति करिब २ः३० बजेसम्म उनीहरू स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरेको खुलेको छ । जन्मदिन कार्यक्रममा नौ वर्षीय एक बालक पनि सहभागी रहेको प्रहरीले जनाएको छ ।

लजिन एक सातासम्म सम्पर्कविहीन भएपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजी अभियान सञ्चालन गरेको थियो । त्यस क्रममा उनको शव फेला परेको हो ।

प्रहरीले नियन्त्रणमा लिइएका विरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

काठमाडौँको धुम्बाराहीस्थित साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए । साथीको जन्मदिन मनाउन गएका उनी अन्ततः आफ्नै साथीहरूको आक्रमणमा ज्यान गुमाउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?