Butwal Today

आफ्नै हातले सिलाएको सपना

१० श्रावण २०८३, आइतबार
अ+
अ-

चन्द्रौटा  । “आफै लगाएको लेंहगा लगाउन नसक्ने भए पनि सीप सिक्ने इच्छा थियो । यसैबिच शिवराज नगरपालिकाले केही महिना अघि थारु महिलाहरूका लागि लेंहगा बनाउने तालिमको अवसर दियो ।

“सो तालिमले आज आफैले बनाएको लेहेङ्गा लगाएर समापन कार्यक्रम सहभागी भयौँ”, स्थानीय सिर्जना थारुले भनिन्, “यस तालिमले हामीलाई थप ऊर्जा प्रदान गरेको छ । परम्परागत सीपलाई व्यावसायिक रूपमा परिमार्जन गरी आधुनिक रूपमा आकर्षक बनाउन सक्ने भएका छौँ ।”
लेहेङ्गा बनाउने तालिम प्राप्त गरेपछि थारु समुदायका महिलाले उक्त सीपलाई आम्दानीसँग जोड्दै आर्थिक रूपमा सशक्त बन्न सक्ने छन् ।

तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न सके स्वरोजगार सिर्जना हुनुका साथै परिवारको आर्थिक अवस्था सुधारमा समेत टेवा पुग्ने विश्वास रहेको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु बताउँछिन् ।

परम्परागत थारु पहिरन, कला र संस्कृतिको संरक्षणसँगै महिलालाई उद्यमशील बनाउन यस्ता सीपमूलक तालिम प्रभावकारी हुने उनले धारणा राखिन् । स्थानीय स्तरमै उत्पादन गरी बजार व्यवस्थापन गर्न सके लेंहगाले राम्रो आम्दानीको स्रोत बन्न सक्ने उनले उल्लेख गरिन् ।

महिलाको सीप विकास र आत्मनिर्भरता बढाउन स्थानीय सरकारले आवश्यक सहयोग र सहजीकरण गर्दै जाने बताउँदै सीपलाई तालिममा सीमित नराखी व्यवसायमा रूपान्तरण गर्नुपर्नेमा थारुले जोड दिइन् ।

स्थानीय बजारमा थारु समुदायका परम्परागत पोसाकको माग बढ्दै गएकाले अर्डरअनुसार लेहेङ्गा उत्पादन गरी बिक्री वितरण गर्न सकिने थारु अगुवाहरूको भनाइ छ । विवाह, सांस्कृतिक कार्यक्रम, मेला तथा विशेष अवसरमा प्रयोग हुने पोसाकको उत्पादनबाट राम्रो आम्दानी लिन सकिने प्रशिक्षक मञ्जु थारुले बताइन् ।

यस्तै तालिममा सहभागी अर्की स्थानीय मनिषा थारुले यस अघि थारु पोसाक बनाउने तालिममा सहभागी हुँदा पाउँदा हर्ष व्यक्त गरिन् । करिब ६ वर्षदेखि खरेन्द्रपुरमा सिलाई कटाई व्यवसाय गर्दै आएको बताउँदै यस्तो तालिमलले थप मजबुत बनाएको सुनाइन् । “यसले आफ्नो समुदायको पहिचान झल्काउनुको साथसाथै आर्थिक रूपमा समेत सशक्त हुनेछौँ”, उनले भनिन् ।

महिलाहरूले समूह वा सहकारीमार्फत उत्पादन तथा बिक्री व्यवस्थापन गरे लागत घट्नुका साथै ठुलो परिमाणमा अर्डर लिन सहज हुनेछ । सामाजिक सञ्जाल तथा स्थानीय बजारमार्फत उत्पादनको प्रचारप्रसार गर्न सके व्यवसाय विस्तारमा थप सहयोग पुग्ने सहभागी सुस्मा थारुले बताइन् ।

गुणस्तरीय उत्पादन, समयमै आपूर्ति र परम्परागत थारु पहिचान झल्किने डिजाइनलाई प्राथमिकता दिए बजारमा प्रतिस्पर्धा गर्न सहज हुने बताइएको छ । सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके लेंहगा बनाउने तालिम थारु महिलाको आर्थिक आत्मनिर्भरता र सशक्तीकरणको आधार बन्ने विश्वास थारु अगुवा प्रकाश चौधरीले बताए । परम्परागत कला, संस्कृति र पहिरनको संरक्षणसँगै महिलालाई आयआर्जनसँग जोड्न यस्ता सीपमूलक तालिम प्रभावकारी हुने उनले धारणा राखे ।

स्थानीय स्तरमै उत्पादन बढाउन सके रोजगारी सिर्जना हुनुका साथै थारु समुदायको मौलिक पहिचानलाई समेत प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ । यस्तै शिवराज नगर बरघर समितिका अध्यक्ष प्रभु थारुले उत्पादनमूलक सीप सिकेर व्यावसायिक हुनु अत्यन्तै प्रभावकारी रहेको बताए ।

परम्परागत सीप र आधुनिक प्रविधिको संयोजन गर्दै उत्पादनलाई बजारसँग जोड्न सके युवाहरूले आफ्नै क्षेत्रमा राम्रो आम्दानी गर्न सक्ने थारुले बताए । सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरणसँगै स्थानीय उत्पादन र उद्यमशीलताको विकासमासमेत सहयोग पुग्ने उनले बताए । “देशव्यापी रूपमा सीपले पछिल्लो युवा पुस्तालाई रोजगारीमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?