Butwal Today

तीन दलबीच सहमतिको प्रयास असफल भएपछि दुई दल मिलेर सरकार गठन गर्ने समझदारी

९ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले प्रदेश सरकार गठनमा देखिएको लामो राजनीतिक गतिरोध अन्त्य गर्न एमाले र नेकपाबीच सहमति भएको बताएका छन्। उनका अनुसार यो समझदारी तत्काल प्रदेश सरकारमा देखिएको अस्थिरता समाधान गर्ने उद्देश्यले गरिएको हो।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेशमा संयुक्त सरकार गठन गर्ने समझदारी बनेको बताइएको छ। उक्त सहमतिमा सक्रिय भूमिका खेलेका नेता पुनका अनुसार सुरुआतमा नेपाली कांग्रेससहित तीन दलबीच सहकार्यको प्रयास गरिएको थियो। तर कांग्रेस सहमतिमा नआएपछि एमाले र नेकपाले मात्रै प्रदेश सरकार गठनका लागि अगाडि बढ्ने निर्णय गरेका हुन्।

पुनले भने, “प्रदेशमा सरकार बनाउँदा तीन दलकै बनाउने प्रयास थियो। कांग्रेस तयार नभएपछि हामी दुई दल मिल्यौँ।”उनका अनुसार हालको सहमति प्रदेश सरकार गठन र त्यहाँ देखिएको राजनीतिक डेडलक अन्त्य गर्नका लागि मात्रै भएको हो। “अहिले प्रदेश सरकारका लागि मात्रै सहमति हो। प्रदेशमा डेडलक छ, त्यसलाई फुकाउनका लागि सहमति भएको हो,” उनले स्पष्ट पारे। पुनले सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सरकार सञ्चालनमा समस्या सिर्जना गरेको उल्लेख गर्दै त्यसको समाधानका लागि कांग्रेससहित तीन दलबीच सहमतिको प्रयास गरिएको बताए। तर सहमति हुन नसकेपछि एमाले र नेकपा मात्रै अगाडि बढेको उनको भनाइ छ।

उनले भने, “सुदूरपश्चिममा बजेटकै समस्या छ, कर्णाली र बागमतीमा पनि राजनीतिक अस्थिरता देखिएको छ। त्यसलाई समाधान गर्न तीन दलबीच प्रयास गर्‍यौँ, तर सहमति हुन नसकेपछि दुई दल अगाडि बढेका हौँ।”यद्यपि, प्रदेशमा नयाँ राजनीतिक समीकरण बने पनि संघीय स्तरमा नेपाली कांग्रेससँगको सहकार्य यथावत् रहने पुनले स्पष्ट पारे। संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा प्रतिनिधिसभा र राष्ट्रियसभामा आवश्यक सहकार्य निरन्तर रहने उनको भनाइ छ। प्रदेश सरकार गठनका लागि एमाले–नेकपाबीच भएको यो सहमतिले प्रदेश राजनीतिमा नयाँ मोड ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?