Butwal Today

इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण

९ श्रावण २०८३, शनिबार
अ+
अ-

चितवन । इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तीको  सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपुर्जा वितरण गरेका हुन।

सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्वासीले जग्गा धनिपत्र पाउने बताए । उनले ५०० दिनभित्र लालपुर्जा वितरण गरी सक्ने बताए । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए । सुकुम्वासीका लागि लालपुर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।

कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहनु भएका  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रक्रिया पुगेकालाई तत्काल लालपुर्जा वितरण गरिने र प्रक्रिया नपुगेकाको प्रक्रिया पुरा गर्न लाग्ने बताए । सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताए । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्ले आज जग्गा धनी प्रमाण पत्र पाउनेमा चार घर भूमिहीन दलित र ३० घर भूमिहीन सुकुम्वासी रहेको बताए । सोही टोलका ३८ घरको लालपुर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनी बाहिर भएकाले उनीहरू आएपछि लालपुर्जा वितरण गरिने बताए ।

गाउँपालिकामा अझै ८० घर भूमिहीन दलित, ७७१ घर भूमिहीन सुकुम्वासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् । सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सात वटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?