© 2026
दाङ ।
तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र मृत अवस्थामा फेला परेका दुई जनाको पहिचान खुलेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा बस्दै आएका अन्दाजी ४२ वर्षीय कमल गिरी र सोही स्थानका अन्दाजी ३५ वर्षीय घनश्याम गिरी रहेका छन् । कमल गिरी घर निर्माणका ठेकेदार तथा घनश्याम गिरी मिस्त्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तुलसीपुर–६ रजौरास्थित मानव धर्म सेवा आश्रमको पूर्वतर्फ मनिराम चन्दले निर्माण गरिरहेको घरको पानी ट्याङ्कीमा सेटिङ (फर्मवर्क) निकाल्न दुवै जना बुधबार साँझ करिब ५स्१५ बजे ट्याङ्कीभित्र पसेका थिए ।
उनीहरू बाहिर नआएपछि बिहीबार बिहान करिब १० बजे स्थानीयवासीले ट्याङ्कीभित्र उनीहरूलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको टोली घटनास्थलमा पुगेर शव निकालेको छ । घटनाको कारण खुल्न बाँकी रहेको र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।