Butwal Today

प्रतिनिधिसभाका ४१ बैठकमध्ये प्रधानमन्त्री बालेन ६ बैठकमा मात्रै उपस्थित

६ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौं । प्रतिनिधिसभाको हालसम्म बसेका ४१ वटा बैठकमध्ये प्रधानमन्त्री बालेन्द्र शाह बालेन ६ बैठकमा मात्रै सहभागी भएको तथ्य सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयको अभिलेखअनुसार पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने ५ बैठकमा मात्रै उपस्थित भएका छन्।

सार्वजनिक रूपमा नयाँ पुस्ताका नेताहरूलाई संसदीय अभ्यास सिकाउनुपर्ने धारणा राख्दै आएका प्रचण्डको आफ्नै संसदीय उपस्थितिमाथि प्रश्न उठेको छ। त्यस्तै, प्रधानमन्त्री बालेनको न्यून उपस्थितिले पनि संसद्प्रतिको कार्यकारी नेतृत्वको उत्तरदायित्वबारे बहस सुरु भएको छ। अन्य शीर्ष नेताहरूको उपस्थितिसमेत अपेक्षाकृत कमजोर देखिएको छ। रास्वपा सभापति रवि लामिछाने २१ बैठक, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ २४ बैठक, स्वतन्त्र सांसद हर्क साम्पाङ २५ बैठक र राप्रपा नेता ज्ञानेन्द्र शाही २५ बैठकमा सहभागी भएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे भने ३५ बैठकमा उपस्थित भएका छन्। मन्त्रीहरूको उपस्थितिसमेत सन्तोषजनक देखिएको छैन। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ७ बैठक, शिक्षामन्त्री सस्मित पोखरेल ८ बैठक तथा परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधारमन्त्री सुनिल लम्साल ९ ,९ बैठकमा मात्रै सहभागी भएका छन्।

संसदीय अध्येताहरूका अनुसार संसद् सरकारलाई जवाफदेही बनाउने सर्वोच्च लोकतान्त्रिक मञ्च हो। प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूको न्यून उपस्थितिले संसदीय उत्तरदायित्व र सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ। प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्येक महिना प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार संसद्प्रति कार्यकारी नेतृत्वको उदासीनताले लोकतान्त्रिक अभ्यास कमजोर पार्ने र जनतामा नकारात्मक सन्देश जाने जोखिम बढाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?