Butwal Today

बाँकेमा १ महिनामै २१६ मुद्दा दर्ता

५ श्रावण २०८३, मंगलवार
अ+
अ-

नेपालगन्ज (बाँके) । नेपाल प्रहरीले बाँके जिल्लामा गत असार महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार असार महिनामा मात्रै २१६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य अपराधका ११, गम्भीर प्रकृतिका ५८ र सामान्य अपराधका १४७ वटा मुद्दा रहेका छन् ।

प्रहरीका अनुसार जघन्य अपराधका मुद्दामा १० वर्षभन्दा बढी कैद सजाय हुने र गम्भीर प्रकृतिका अपराधमा तीनदेखि १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । यस्ता मुद्दामा कर्तव्य ज्यान, जबर्जस्ती करणी, लागुऔषध कारोबार, अपहरण तथा शरीर बन्धकलगायतका अपराध समावेश छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १६ वटा मुद्दामा १४ जनालाई पक्राउ गरिएको छ । साथै, आर्थिक अपराधसम्बन्धी ५४ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चालु मुद्दाका १५७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । सार्वजनिक चासोका ५४ वटा थाँती रहेका मुद्दाको सफल अनुसन्धान गरिएको पनि जनाएको छ । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एकवटा मुद्दासमेत दर्ता भएको छ ।

त्यसैगरी, अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका ९२ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट ४५ वर्ष तीन महिना २३ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ । उनीहरूबाट ४७ लाख १० हजार ३५१ रुपैयाँ बिगो तथा क्षतिपूर्ति रकमसमेत असुल गरिएको छ ।

यस्तै, महिलामाथि हुने घरेलु हिंसासम्बन्धी ५२ वटा मुद्दामध्ये ४९ वटा अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?