© 2026
दाङ । दाङको तुलसीपुरमा जङ्गली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ । च्याउ खाएका अन्य छ जना बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जङ्गली च्याउ खाएर बिरामी परेकी तुलसीपुर–३ बल्ले निवासी ३६ वर्षीया दीपा पुन मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
गत असार ३१ गते जंगलबाट ल्याएको जङ्गली च्याउ पकाएर खाँदा दुई परिवारका सात जना बिरामी परेका थिए । उनीहरूमध्ये दुई जनाले घरमै सामान्य उपचार गरेका थिए भने अन्य पाँच जनालाई अस्पताल भर्ना गरिएको थियो ।
बिरामी परेकी दीपालाई प्रारम्भिक उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही रेफर गरिएको थियो । घोराहीमा पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज लैजाँदै गर्दा शनिबार बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेका ७५ वर्षीय दशरथी पुन, उनका ३८ वर्षीय छोरा डम्बरबहादुर पुन, ३६ वर्षीय तिलक पुन, ५ वर्षीय विपिन पुन, १२ वर्षीय विवेक पुन र सुमन बुढाथोकी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।