© 2026
दोहा (कतार)। प्रवासको व्यस्त दैनिकी र मरुभूमिको तापबिच पनि कतारमा रहेका नेपाली साहित्य र सङ्गीत प्रेमीहरू चर्चित गजल गायक राज सिग्देलको सुमधुर प्रस्तुतिमा रमाएका छन् ।
दोहास्थित प्लाजा मलको वेलफेयर रेस्टुरेन्टको सभाहलमा आयोजित ‘विशेष गजल साँझ’ मा सिग्देलले आफ्ना चर्चित गीत तथा गजल प्रस्तुत गर्दै दर्शकलाई भावविभोर बनाएका हुन् । कार्यक्रमभर हल ताली, हुटिङ र दर्शकको उत्साहले गुन्जिएको थियो ।
सिग्देलले ‘देशले रगत मागे मेरो बलि चढाऊँ’ गीतबाट प्रस्तुति सुरु गरेका थिए । त्यसपछि ‘तिमीलाई अरूसँग देख्दा’, ‘भुल्न खोजेर पनि’, ‘आएर त हेर मेरो’, ‘बनै खायो डढेलोले’, ‘किन किन तिम्रो तस्बिर’, ‘यो माया हराएको सहर हो प्रिय’ लगायतका चर्चित गीत तथा गजल प्रस्तुत गरे ।
उनले ‘ऊ जितेर गई, म यहाँ हारेर गएँ’ गाउन थालेपछि दर्शकले ताली र हुटिङमार्फत साथ दिएका थिए । हलभरि उपस्थित दर्शकहरू सिग्देलको स्वरमा स्वर मिलाउँदै गीत गुनगुनाइरहेका देखिन्थे । शास्त्रीय सङ्गीतमा समेत राम्रो पकड भएका सिग्देलको सशक्त गायन शैलीले कतारमा रहेका नेपाली समुदायलाई मन्त्रमुग्ध बनाएको थियो ।
दर्शकहरूले लामो समयपछि कतारमा यति स्तरीय र परिपक्व गजल साँझ अनुभव गर्न पाएको प्रतिक्रिया दिएका थिए ।
नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती, नवोदित साहित्यिक वाचनालय कतारको १८औँ अधिवेशन, अनेसास नवोदित साहित्यिक वाचन शृङ्खलाको १७१औँ डबली तथा विशेष गजल साँझ एकैसाथ सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कतारका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राईले आदिकवि भानुभक्त आचार्यले संस्कृत रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा, साहित्य र राष्ट्रिय एकताको सुदृढ आधार निर्माण गरेको उल्लेख गरे । उनले मातृभाषाप्रतिको सम्मान नै राष्ट्रप्रतिको सम्मान भएको बताउँदै शुद्ध नेपाली भाषाको प्रयोगमा विशेष ध्यान दिन आग्रह गरे ।
यस अवसरमा ‘संस्कृतिको सिरानी’, ‘छराका सितारा’ र ‘छन्दकुञ्जन’ नामक तीन साहित्यिक कृतिको सामूहिक विमोचन गरिएको थियो । कृतिहरूको साहित्यिक महत्त्वबारे प्रेमप्रसाद भट्टराईले प्रकाश पारे ।
नेपाली सङ्गीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायक राज सिग्देललाई सम्मान पत्रसहित विशेष सम्मान पनि प्रदान गरिएको थियो ।
यसैबिच नवोदित साहित्यिक वाचनालय कतारको १८औँ अधिवेशनले शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्षमा शिव सुवेदी, द्वितीय उपाध्यक्षमा पूर्णकान्छा गुरुङ, मोबाइल पुस्तकालय संयोजकमा गोविन्द उदासी, महासचिवमा सुजाता डीसी, सचिवमा पाण्डव थापा मगर, कोषाध्यक्षमा रामप्रसाद लुइँटेल र सह–कोषाध्यक्षमा राजु सुवेदी निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा गणेश बस्याल, पवन गुरुङ, योगेन्द्र सुवेदी, सरुजा कार्की, रिता ढुङ्गेल र मिन थापा चयन भएका छन् । अनेसास कतार च्याप्टरका अध्यक्ष तथा निर्वाचन समितिका संयोजक दिलीप पराजुलीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।
