© 2026
चितवन । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले ट्राफिक नियमको कडाइका साथ पालना गर्न चालकलाई आग्रह गरेको छ ।
आइतबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा ३० जना घाइते भएका थिए । दुर्घटनापछि केही समय सडक अवरुद्ध हुनुका साथै सवारी आवागमन प्रभावित भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले मुग्लिनतर्फ जाँदै गरेको बसले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको बताए । उनका अनुसार ओभरटेक नै सडक दुर्घटना र सवारीजामको प्रमुख कारण बन्दै गएको छ ।
उनले ओभरटेकका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै लामो सवारीजाम हुने, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई आवतजावत गर्न कठिन हुने र घाइतेको उद्धारमा समेत ढिलाइ हुने गरेको बताए । उनले बिहानको दुर्घटनामा पनि सवारीजामका कारण उद्धार कार्य प्रभावित भएको उल्लेख गरे ।
बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र चितवन क्षेत्रमा पर्ने पृथ्वी राजमार्गमा सवारी सञ्चालन अस्थायी रूपमा रोकेको थियो । बिहान ५ः३० बजे सडक खुलेपछि चालकले हतारमा ओभरटेक गर्दा दुर्घटना र सवारीजाम भएको प्रशासनको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटना र सवारीजाम दुवै उल्लेख्य रूपमा घटाउन सकिने बताए । उनले ट्राफिक नियमको पालना गर्दा चालक र यात्रु दुवै प्रत्यक्ष रूपमा लाभान्वित हुने उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वर्षायाममा बाढी र पहिरोको उच्च जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउनु बाध्यता रहेको बताए । उनले सडक खुलेपछि आफ्नो लेनमै सवारी चलाउन र अनावश्यक ओभरटेक नगर्न चालकलाई आग्रह गरे ।
उनले सुरक्षित र सहज यातायात सञ्चालनका लागि प्रशासनसँगै चालक र यात्रुको पनि समान जिम्मेवारी रहेको उल्लेख गर्दै ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिए ।