Butwal Today

प्रदेशवासीको गुनासो सुन्न ‘हेलो सिएम’ कक्ष स्थापना गरिने

३ श्रावण २०८३, आइतबार
अ+
अ-

बागमती  । बागमती प्रदेश सरकारले प्रदेशवासीका गुनासा, उजुरी र समस्याको छिटो सम्बोधन गर्ने उद्देश्यले ‘हेलो सिएम’ कक्ष स्थापना गर्ने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधिसहित ‘हेलो सिएम’ कक्ष स्थापना गरी सञ्चालन गरिनेछ । उक्त कक्षमार्फत नागरिकबाट प्राप्त गुनासा, उजुरी तथा समस्यालाई सात दिनभित्र फर्छ्योट गर्ने व्यवस्था मिलाइनेछ ।

उनले प्रदेश सरकारले सञ्चालन गरिरहेका सम्पूर्ण आयोजनाको भौतिक तथा वित्तीय प्रगतिको निरन्तर अनुगमन गर्न अनलाइन प्रोजेक्ट मनिटरिङ प्रणाली विकास तथा कार्यान्वयनका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री तामाङका अनुसार प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गरी प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई प्रदान गरिने सबै प्रकारका तालिम एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रदेशमा पहिचान भइसकेका तर अझै तर्जुमा हुन बाँकी रहेका कानुनलाई प्राथमिकताका साथ निर्माण गरिने तथा आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन तर्जुमा वर्ष’ का रूपमा मनाइने उनले बताए । साथै प्रदेश सरकारले बनाएका नीति तथा कानुनको कार्यान्वयन अवस्थाको अध्ययन तथा विश्लेषणका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ बनाउन प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमलाई निरन्तरता दिइएको मन्त्री तामाङले बताए ।

उनका अनुसार मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहलाई लक्षित गरी ‘पालिका मानव विकास तथा आर्थिक रूपान्तरण विशेष कार्यक्रम’ सञ्चालनका लागि चार करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?