© 2026
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच बजेट तथा आर्थिक कार्यशैलीलाई लिएर देखिएको मतभेदले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भित्र आन्तरिक तनाव बढाएको छ। पार्टीका नेताहरूका अनुसार यही विवाद समाधान गर्न सभापति रवि लामिछाने सक्रिय भएका छन्।
विवादको मुख्य कारण अर्थमन्त्री वाग्लेले ल्याएको बजेटका केही कर तथा आर्थिक नीतिहरू बनेका छन्। प्रधानमन्त्री शाहले विशेषगरी शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत क्षेत्रमा कर लगाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनका अनुसार यस्ता नीतिले सरकारलाई जनतामाझ असहज बनाएको छ।
रास्वपाका एक सांसदका अनुसार प्रधानमन्त्रीले बजेटले सरकारको कार्यसम्पादनमा असर परेको भन्दै आफ्नो असन्तुष्टि पार्टी सभापति लामिछानेसमक्ष पनि राखेका छन्। बजेटकै कारण जनतासामु अपेक्षाअनुसार काम गर्न नसकिएको प्रधानमन्त्रीको बुझाइ रहेको ती सांसदले बताएका छन्। कर नीतिप्रति असन्तुष्टि रास्वपाका सांसदहरूमा पनि देखिएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षामा कर लगाउने निर्णयअघि आफूलाई कुनै परामर्श नगरिएको प्रतिक्रिया दिएका छन्। यसले प्रधानमन्त्री र अर्थमन्त्रीबीच विश्वासको दूरी बढेको संकेत गरेको नेताहरूको भनाइ छ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनमा निजी क्षेत्र, उद्योगी–व्यवसायी, नेपाल राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ र होटल व्यवसायीसँग उच्चस्तरीय छलफल गरेका थिए। तर ती अधिकांश बैठकमा अर्थमन्त्री वाग्लेलाई सहभागी नगराइएको र उनको स्थानमा रास्वपाकी सांसद विदुषी राणालाई सहभागी गराइएको बताइएको छ। यसप्रति अर्थमन्त्री असन्तुष्ट रहेको पार्टी स्रोतको दाबी छ।
यही विषयलाई लिएर अर्थमन्त्री वाग्ले र सभापति लामिछानेबीच शनिबार धुलिखेलमा भेटवार्ता भएको बताइएको छ। प्रधानमन्त्री र अर्थमन्त्रीबीच बढ्दो दूरी तथा सरकारभित्रको समन्वय अभावबारे छलफल भएको र पार्टीभित्र देखिएको असन्तुष्टि समाधानका उपाय खोजिएको स्रोतले जनाएको छ।
पार्टीका केही नेताहरूले सरकार र पार्टीबीच प्रभावकारी समन्वयको अभाव रहेको बताएका छन्। सरकारका निर्णयबारे पार्टी नेतृत्व समयमै जानकार नहुने र पार्टीका धारणा सरकारसम्म पनि प्रभावकारी रूपमा नपुग्ने अवस्था देखिएको उनीहरूको भनाइ छ।
यता, बजेटका केही व्यवस्थाप्रति सांसद र कार्यकर्ताहरूले समेत नेतृत्वमाथि दबाब बढाइरहेका छन्। केही मन्त्रीको कार्यसम्पादनप्रति पनि असन्तुष्टि बढ्दै गएको नेताहरूको भनाइ छ। यसैबीच रास्वपाभित्र मन्त्रिपरिषद् पुनर्गठनको चर्चा समेत सुरु भएको छ। यद्यपि तत्काल अर्थमन्त्री परिवर्तन हुने सम्भावना कम देखिए पनि बजेटलाई लिएर पार्टीभित्रको असन्तुष्टि गम्भीर बनेको र त्यसलाई समाधान गर्न सभापति रवि लामिछानेले पहल गरिरहेको नेताहरूले बताएका छन्।