Butwal Today

साउनभित्र सञ्चालनमा आउने नागढुंगा सुरुङमार्ग

२ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । काठमाडौं र धादिङलाई जोड्ने बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना साउनभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। सुरुङमार्गसँगै नेपालमा पहिलोपटक आरएफआईडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन प्रविधिमा आधारित आधुनिक टोल प्रणाली पनि लागू गरिने भएको छ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले वाणिज्य बैंकहरूलाई आरएफआईडी चिपमा आधारित प्रिपेड ट्याग वा कार्ड जारी गर्न अनुमति दिइसकेको छ। भारतमा प्रयोग हुँदै आएको ‘फास्ट ट्याग’ जस्तै प्रविधि नेपालमा पहिलोपटक नागढुंगा सुरुङमार्गबाट सुरु हुन लागेको हो। यस प्रणालीअन्तर्गत सवारीसाधनको अगाडिको सिसा ९विन्डस्क्रिन० मा आरएफआईडी ट्याग जडान गरिनेछ। टोल गेटमा पुग्नेबित्तिकै सेन्सर र क्यामेराले उक्त ट्यागलाई पहिचान गरी सवारीधनीको प्रिपेड खाताबाट स्वतः शुल्क कटौती गर्नेछन् र गेट स्वचालित रूपमा खुल्नेछ। नगद र डिजिटल भुक्तानीको विकल्प पनि उपलब्ध हुनेछ।

आयोजनाअन्तर्गत २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग र २ हजार ५ सय ५७ मिटर लामो आपत्कालीन इभाकुएसन सुरुङमार्ग निर्माण गरिएको छ। मुख्य सुरुङमार्गको चौडाइ ९.५ मिटर रहेको छ। मुख्य सुरुङमा तीन लेन रहनेछन्। काठमाडौं प्रवेशतर्फ दुई लेन र बाहिरिने दिशामा एक लेन सञ्चालन हुनेछ। साथै, मुख्य सुरुङसँग समानान्तर रूपमा निर्माण गरिएको आपत्कालीन सुरुङलाई ७ वटा क्रस–प्यासेजमार्फत जोडिएको छ, जसले दुर्घटना वा आपत्कालीन अवस्थामा उद्धार कार्यलाई सहज बनाउनेछ। सुरुङभित्र सिसिटिभी क्यामेरा, अत्याधुनिक भेन्टिलेसन फ्यान, फायर हाइड्रेन्ट, आगलागी सूचना दिने अलार्म प्रणाली तथा अन्य सुरक्षा उपकरण जडान गरिएका छन्।

यी सवारी र सामग्रीलाई प्रवेश निषेध

सुरुङमार्ग सञ्चालन निर्देशिकाअनुसार पैदलयात्री, साइकल, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा इन्जिन नभएका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश गर्न दिइने छैन। त्यस्तै, १८ मिटरभन्दा लामो, २.५ मिटरभन्दा चौडा, ४.७५ मिटरभन्दा अग्ला तथा सरकारले तोकेको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न रोक लगाइएको छ। मट्टितेल, पेट्रोल, डिजेल, एलपी ग्यास, विस्फोटक पदार्थ, सुरक्षा निकायबाहेकका हातहतियार, स्वास्थ्यमा प्रतिकूल असर पार्ने रसायन, दुर्गन्धित वा कुहिएका सामग्री तथा कानुनले निषेध गरेका अन्य वस्तु बोकेका सवारीसाधनलाई पनि सुरुङमार्गमा प्रवेश गर्न नपाइने व्यवस्था गरिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डको यात्रा समय घट्नुका साथै ट्राफिक जाम कम हुने र यात्रु तथा मालवाहक सवारीको आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?