Butwal Today

मनसुनको असर बढ्दो तीन महिनामा १६४ जनाको मृत्यु

२ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ४२ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा १४ जिल्लाका २२ स्थानमा पहिरो गएको छ। पहिरोका घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

यस अवधिमा पाँच जिल्लामा सर्पदंशका ६ वटा घटना भएका छन्। सर्पको टोकाइबाट ६ जना घाइते भएका छन्। त्यस्तै आगलागीका ६ वटा घटनामा एक जना घाइते भएका छन्। लगातारको वर्षा र पहिरोका कारण मुलुकका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु र सवारी आवागमनमा समस्या उत्पन्न भएको छ।

तीन महिनामा १६४ जनाको मृत्यु ,४ हजार ५०५ परिवार प्रभावित

प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि साउन २ गतेसम्म प्राकृतिक विपद्का कारण देशभर ३ हजार ३८९ वटा घटना भएका छन्। यस अवधिमा १६४ जनाको मृत्यु, एक जना बेपत्ता तथा ९८१ जना घाइते भएका छन्।

तथ्यांकअनुसार सबैभन्दा बढी सर्पदंशबाट ३९ जनाको मृत्यु भएको छ। त्यस्तै चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७, हावाहुरी र पहिरोबाट १३–१३, बाढीबाट १० तथा भारी वर्षाका कारण चार जनाले ज्यान गुमाएका छन्। साथै ढुंगा पल्टिएर दुई जना तथा वन डढेलो र हिमपहिरोबाट एक–एक जनाको मृत्यु भएको छ।

प्राकृतिक विपद्का कारण हालसम्म ४ हजार ५०५ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी हावाहुरीबाट १ हजार ३५६ परिवार प्रभावित भएका छन् भने आगलागीबाट एक हजार परिवार प्रभावित भएका छन्। यस्तै, सर्पदंशबाट ५३३ परिवार, चट्याङबाट २७५ परिवार, वन्यजन्तुको आक्रमणबाट २९६ परिवार तथा लेक लाग्ने घटनाबाट ५४ परिवार प्रभावित भएका छन्।

बढ्दो वर्षा र विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनहरूले ‘ट्राभल अलर्ट’ जारी गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार अत्यावश्यक कामबाहेक टाढाको तथा रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?