Butwal Today

भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

भैरहवा । नेपालमा पछिल्लो समय पिज्जाप्रति ग्राहकहरूको आकर्षण र रुचि बढ्दै गएको छ । यही बढ्दो मागलाई मध्यनजर गर्दै भैरहवाको बिद्रोहीचोकमा स्वदेशी ब्रान्ड ‘यु एस पिज्जा’ सञ्चालनमा आएको छ ।

यसअघि ‘यु एस पीएफसी’ का नाममा भारतीय चेन ब्रान्डमार्फत व्यवसाय सञ्चालन गरिएको भए पनि विदेशी ब्रान्डको रोयल्टी तिर्नुपर्ने तथा आवश्यक सामग्रीहरू बाहिरबाट आयात गर्नुपर्दा लागत बढ्ने र आम्दानी घट्ने समस्याका कारण अहिले आफ्नै मौलिक ब्रान्डका रूपमा ‘यु एस पिज्जा’ सुरु गरिएको सञ्चालक पङ्कज जयसवालले बताए ।

जयसवालका अनुसार विदेशी ब्रान्डको विकल्पमा नेपालमै फरक स्वाद र गुणस्तरका परिकार उपलब्ध गराउने उद्देश्यले उनकी श्रीमतीले भारतलगायत विभिन्न स्थानबाट अनलाइन तथा अफलाइन माध्यमबाट पिज्जा, बर्गर र क्रन्ची फ्राइड चिकेन बनाउने तालिम लिएकी थिइन् ।

करिब तीन महिनासम्म अध्ययन र विभिन्न चरणका परीक्षणपछि ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि तीन वर्षअघि बुटवललाई मुख्य कार्यालय बनाएर व्यवसायको सुरुवात गरिएको हो ।

हाल ‘यु एस पिज्जा’ ब्रान्डको पेटेन्ट दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको सञ्चालक जयसवालले जानकारी दिए । ब्रान्डको लोगोमा नेपालको राष्ट्रिय झन्डाको थिम, चन्द्र–सूर्यको प्रतीक तथा नेपाली झन्डाकै रङहरूको संयोजन प्रयोग गरिएको छ ।

यसमार्फत राष्ट्रिय भावना अभिव्यक्त गर्दै नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य राखिएको उनले बताए । आम सर्वसाधारणमाझ यसलाई ‘अस पिज्जा’ अर्थात् ‘हाम्रो पिज्जा’ का रूपमा स्थापित गर्ने लक्ष्य कम्पनीको रहेको छ ।

यु एस पिज्जामा प्रयोग हुने पिज्जाको बेस मैदा, गहुँको पिठो र सुजीको मिश्रणबाट आफ्नै भान्सामा तयार गरिने गरिएको छ । सञ्चालकका अनुसार मल्टिग्रेन बेस स्वास्थ्यका दृष्टिले लाभदायक हुनुका साथै सजिलै पच्ने खालको छ । ग्राहकको स्वादलाई ध्यानमा राख्दै पिज्जामा पर्याप्त मात्रामा चीजको प्रयोग गरिने गरिएको छ ।

यहाँ भेज र चिकेन गरी दुई प्रकारका पिज्जा उपलब्ध छन् । पिज्जा थिन क्रस्ट, चीज बर्स्ट र एक्स्ट्रा चीज गरी तीन प्रकारका क्रस्टमा पाइन्छन् । पिज्जा रेगुलर (७ इन्च), मिडियम (१० इन्च) र लार्ज (१२ इन्च) साइजमा उपलब्ध रहेको सञ्चालकले बताए ।

पिज्जाका अतिरिक्त आउटलेटमा भेज तथा चिकेन बर्गर र केएफसी शैलीको ‘क्रन्ची फ्राइड चिकेन’ पनि उपलब्ध छ । साथै नेपाली परिकार छोइला, म:म:, चाउमिनहरू पनि उपलब्ध रहेको जयसवाले बताए । हाल उक्त व्यवसायमार्फत १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

ग्राहकलाई आकर्षित गर्न कम्पनीले विभिन्न विशेष अफरसमेत सार्वजनिक गरेको छ । ‘बाय वान गेट वान फ्री’ योजनाअन्तर्गत दुईवटा बर्गर खरिद गर्दा एउटा बर्गर निःशुल्क उपलब्ध गराइनेछ । त्यसैगरी, २९९ रुपैयाँ देखि १०९९ रुपैयाँमा कम्बो अफर पनि सञ्चालनमा रहेको जयसवालले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?