© 2026
दोहा (कतार) । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको आयोजनामा कतारका पूर्व अमिर तथा महामहिम पिता शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
गत आइतबार निधन भएका पूर्व अमिर शेख हमादको स्मृतिमा बिहीबार साँझ आयोजित कार्यक्रममा कतारस्थित नेपाली समुदायले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त कतारी राजपरिवार, कतार सरकार तथा सम्पूर्ण कतारी जनताप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।
कार्यक्रममा सहभागीहरूले आधुनिक कतारको निर्माण, आर्थिक समृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा स्थापित गर्न पूर्व अमिर शेख हमादले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै उनको योगदान दीर्घकालसम्म सम्मानका साथ सम्झिइने बताए ।
कार्यक्रममा नेपाल–कतारबिचको ऐतिहासिक मैत्री सम्बन्ध र त्यसको विकासमा पूर्व अमिरको नेतृत्वकालले खेलेको भूमिकाबारे पनि चर्चा गरिएको थियो । वक्ताहरूले आजको समृद्ध कतार निर्माणमा पूर्व अमिरको अतुलनीय योगदान रहेको उल्लेख गर्दै उनकै कार्यकालमा नेपाली श्रमिकहरूले कतारको विकासमा साझेदार बन्ने अवसर पाएको बताए ।शोकको यस घडीमा कतार सरकार, राजपरिवार र कतारी जनताप्रति ऐक्यबद्धता जनाउनु नेपाली समुदायको दायित्व भएको उनीहरूको भनाइ थियो ।
नेपाली राजदूतावास कतारका श्रम सहचारी प्रेम पोखरेलले नेपाल र कतारबिचको श्रम सहकार्यलाई संस्थागत बनाउने श्रम सम्झौता पूर्व अमिरकै कार्यकालमा भएको उल्लेख गर्दै त्यसले हजारौँ नेपाली श्रमिकका लागि कतारको रोजगारीलाई थप व्यवस्थित र सुरक्षित बनाउन महत्त्वपूर्ण आधार तयार गरेको बताए ।
उनले नेपाल–कतार सम्बन्ध केवल कूटनीतिक तहमा मात्र सीमित नरही श्रम, विकास, आर्थिक साझेदारी तथा जनस्तरको सम्बन्धमार्फत अझ सुदृढ बन्दै गएको उल्लेख गरे । साथै, कतारको समृद्धि यात्रामा नेपाली श्रमिकहरूले उल्लेखनीय योगदान पुर्याइरहेको पनि उनले बताए ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले पूर्व अमिरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आधुनिक, समृद्ध र विश्वसामु सम्मानित कतार निर्माणमा उनको योगदान अतुलनीय रहेको बताए ।
उनले पूर्व अमिरको दूरदर्शी नेतृत्वकै कारण कतारले तीव्र विकासको फड्को मारेको र त्यसबाट लाखौँ विदेशी श्रमिकसँगै नेपाली समुदायले पनि रोजगारी तथा अवसर प्राप्त गरेको उल्लेख गरे । साथै, नेपाल–कतारबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै कतारमा कार्यरत नेपाली समुदाय सदैव कतारी जनताको सुख–दुःखमा साथ रहने प्रतिबद्धता जनाए ।
श्रद्धाञ्जली सभामा सहभागीहरूले एक मिनेट मौन धारण गर्दै स्वर्गीय पूर्व अमिरको आत्माको चिर शान्तिको कामना गरेका थिए ।
नेपाल र कतारबिचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबिच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । पूर्व अमिरको कार्यकालमा उक्त सम्बन्धले थप नयाँ उचाइ हासिल गरेको सहभागीहरूले बताएका छन् ।