Butwal Today

बुटवल – नुवाकोटगढी ऐतिहासिक पदमार्ग बन्दै

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिकाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको बुटवल–नुवाकोटगढी पैदल मार्ग निर्माण सुरु गर्ने भएको छ ।

बुटवल–१ देखि पाल्पाको नुवाकोटसम्म करिब ३.५ किलोमिटर लामो पैदल मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको छ भने निर्माण कार्य अघि बढाउन सम्बन्धित पक्षबिच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

उपमहानगरपालिकाका इन्जिनियर किशोर खनालका अनुसार पदमार्ग निर्माणका लागि हिमान्जय कन्स्ट्रक्सनसँग आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी चार करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार परियोजनाअन्तर्गत ऐतिहासिक पदमार्गलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाइनेछ । पैदल यात्री तथा पर्यटकलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने गरी बाटोको स्तरोन्नति, आवश्यक संरचना निर्माण, विश्राम स्थल तथा सुरक्षा व्यवस्थासमेत मिलाइने योजना रहेको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले परियोजना अघि बढाइएको बताए । उनका अनुसार बुटवल–नुवाकोट पदमार्गले स्थानीय इतिहास र सभ्यतालाई संरक्षण गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

उनले ऐतिहासिक सम्पदाको संरक्षणलाई विकाससँग जोड्दै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने लक्ष्य रहेको बताए । नगर प्रमुख पाण्डेयले भने, “यो केवल पैदल मार्ग निर्माणको परियोजना मात्र होइन, बुटवलको ऐतिहासिक पहिचान जोगाउने र पर्यटनमार्फत स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने अभियान पनि हो ।”

उनका अनुसार पदमार्ग सञ्चालनमा आएपछि स्थानीयवासी, विद्यार्थी, धार्मिक पर्यटक तथा पदयात्रा प्रेमीलाई सुरक्षित र व्यवस्थित यात्रा गर्न सहज हुनेछ । साथै, मार्ग आसपासका स्थानीय व्यवसाय, होटल तथा कृषि उत्पादनको बजारीकरणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

बुटवल–नुवाकोट क्षेत्र ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यस मार्गको संरक्षण र विकासले बुटवललाई सांस्कृतिक तथा पदयात्रा पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास उपमहानगरपालिकाले लिएको छ ।

उपमहानगरपालिकाले निर्धारित समयभित्र गुणस्तरीय रूपमा निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि पैदल मार्ग सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकास्थित नुवाकोट ऐतिहासिक, सांस्कृतिक तथा रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ ।

सेनकालमा यो क्षेत्र पाल्पा राज्यको महत्त्वपूर्ण सुरक्षा चौकी तथा प्रशासनिक केन्द्रका रूपमा रहेको इतिहासमा उल्लेख पाइन्छ । यहाँ रहेको प्राचीन किल्ला र त्यसका अवशेषले तत्कालीन राज्य व्यवस्थापन तथा सैन्य संरचनाको स्मरण गराउँछन् ।

बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख विमलबहादुर शाक्यका अनुसार पहाडी भू–बनोटका कारण पाल्पा, गुल्मी, स्याङ्जालगायत आसपासका क्षेत्रको निगरानी गर्न सकिने भएकाले नुवाकोटले तत्कालीन समयमा विशेष सामरिक महत्त्व बोकेको थियो ।

नेपाल एकीकरणकालीन गतिविधिसँग समेत जोडिएको मानिने यस क्षेत्र पुरानो व्यापारिक मार्गका रूपमा समेत परिचित रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?