© 2026
बाँके । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता फतेहसिंह थारुको उपचारका क्रममा निधन भएको छ । उनको नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा निधन भएको हो ।
थारु समुदायका प्रभावशाली नेतामध्ये एक मानिने थारु बाँकेसहित राष्ट्रिय राजनीतिमा परिचित व्यक्तित्व थिए । पञ्चायतकाल तथा बहुदलीय व्यवस्थापछि पनि उनले बाँकेबाट २०३८, २०४३ र २०५१ सालमा निर्वाचन जितेका थिए ।
आफ्नो राजनीतिक जीवनमा उनले सात पटक मन्त्रीको जिम्मेवारी सम्हाल्दै शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग तथा वाणिज्य मन्त्रालयको नेतृत्व गरेका थिए ।
उनी पश्चिम नेपालका थारु समुदायबाट स्नातकोत्तर (एमए) गर्ने पहिलो व्यक्ति मानिन्छन् । साथै, तराई–मधेस समुदायबाट नेपालको रक्षा मन्त्री बन्ने पहिलो व्यक्ति पनि उनी नै थिए ।
उनले २०२३ सालमा बाँकेको हस्नापुर गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भएर राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि तीन पटक बाँके जिल्ला पञ्चायतको सभापति बनेका थिए । उनी राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्यसमेत रहेका थिए ।
पञ्चायती व्यवस्थाको समयमा सक्रिय राजनीति गरेका थारुले बहुदलीय व्यवस्था पुनःस्थापनापछि राप्रपामार्फत आफ्नो राजनीतिक यात्रा निरन्तरता दिएका थिए । उनी स्पष्ट विचार, राष्ट्रवादी धार र आफ्नो अडानमा दृढ नेताका रूपमा परिचित थिए ।
विक्रम संवत् १९९६ साल शरद शुक्ल सप्तमीका दिन बाँकेको थपुवा गाउँमा जमिनदार देवीराम थारुका जेठा पुत्रका रूपमा जन्मिएका थारुलाई इमानदार र स्वच्छ छविका नेताका रूपमा चिनिन्थ्यो । राजनीतिमा सक्रिय रहँदा उनले व्यक्तिगत सम्पत्तिभन्दा सार्वजनिक जीवनलाई प्राथमिकता दिएको भन्दै धेरैले सम्मान गर्ने गरेका थिए ।
यस वर्षको दशैँको फूलपातीका दिन उनले ८७ वर्ष पूरा गरेका थिए । स्वास्थ्यमा खास समस्या नदेखिएका थारुको उपचारका क्रममा निधन भएपछि राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ ।