Butwal Today

सन्धिखर्कको खानेपानी आयोजना सुदृढ हुने, १८ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य

३१ असार २०८३, बुधबार
अ+
अ-

अर्घाखाँची ।  अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बढ्दो जनसङ्ख्या र तीव्र बस्ती विस्तारका कारण देखिएको खानेपानी अभावको दीर्घकालीन समाधानका लागि साना सहरी खानेपानी आयोजनाको सुदृढीकरण गरिने भएको छ ।

अमेरिकन तथा क्यानेडियन दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको यस योजनाले सन्धिखर्कमा खानेपानी आपूर्तिलाई थप व्यवस्थित, भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको छ ।

मंगलबार सम्पन्न भर्चुअल बैठकमा अमेरिका र क्यानडाका विज्ञ टोलीसँग विस्तृत छलफलपछि आयोजना अघि बढाउने सहमति भएको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बाबुराम भुसालले बताएका छन् । बैठकमा आयोजनाको वर्तमान अवस्था, बढ्दो जनसङ्ख्याका कारण सिर्जिएको चुनौती, मुहान संरक्षण, नयाँ प्रविधिको प्रयोग तथा वितरण प्रणाली विस्तारका विषयमा गहन छलफल भएको थियो।

सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यका अनुसार बैठकपछि आयोजना कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।  आगामी १५ दिनभित्र आयोजनाको विस्तृत प्रस्ताव (प्रपोजल) तयार गरी दातृ निकायसमक्ष पेस गरिने जानकारी दिए ।

आचार्यका अनुसार प्रस्ताव स्वीकृत भएसँगै ९० दिनभित्र पहिलो चरणको निर्माण कार्य सुरु हुनेछ। पहिलो चरणमा डिप बोरिङमार्फत नयाँ पानीको स्रोत विकास गर्नुका साथै हाल प्रयोगमा रहेका मुहानहरूको संरक्षण र सुदृढीकरण गरिनेछ। लामो समयदेखि प्रयोगमा रहेका केही मुहानको क्षमता घट्दै गएकाले तिनलाई पुनः व्यवस्थित बनाइने योजना रहेको छ ।

दोस्रो चरणमा करिब छ महिनाभित्र वितरण सञ्जाल विस्तार तथा स्तरोन्नति गरिनेछ। पुराना र साँघुरा पाइपलाइन विस्थापन गरी आवश्यक स्थानमा नयाँ पाइपलाइन जडान गरिनेछ । यसका साथै बढ्दो बस्तीलाई समेट्ने गरी नयाँ वितरण लाइन विस्तार गरिने योजना रहेको छ। सम्पूर्ण निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बाबुराम भुसालले अहिलेको खानेपानी प्रणालीले बढ्दो जनसङ्ख्याको आवश्यकता पूरा गर्न नसकेको स्वीकार गर्दै सुदृढीकरणपछि परिस्थितिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे ।

विगतमा निर्माण गरिएका मुहान र पाइपलाइन तत्कालीन जनसङ्ख्यालाई लक्षित गरेर बनाइएकाले अहिले ती संरचनाले माग धान्न कठिन भएको छ । पछिल्ला वर्षहरूमा सन्धिखर्क बजार क्षेत्रसँगै आसपासका बस्ती तीव्र रूपमा विस्तार भएका कारण खानेपानीको माग उल्लेख्य रूपमा बढेको छ । जसका कारण धेरै स्थानमा नियमित र पर्याप्त पानी वितरण गर्न कठिनाइ हुँदै आएको छ ।

अध्यक्ष भुसालले सुदृढीकरण सम्पन्न भएपछि सन्धिखर्कका सबै टोलमा पर्याप्त, सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए ।  यसले दैनिक उपभोगका साथै विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा व्यवसायिक क्षेत्रलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

आयोजनाका अनुसार विदेशी दातृ निकायको सहकार्य केवल आर्थिक सहयोगमा मात्र सीमित रहने छैन। मुहान संरक्षण, डिप बोरिङ प्रविधिको प्रयोग, वितरण सञ्जाल व्यवस्थापन तथा सञ्चालन प्रणालीलाई आधुनिक बनाउने विषयमा अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक ज्ञानसमेत हस्तान्तरण हुनेछ ।

यसबाट स्थानीय जनशक्तिको क्षमता अभिवृद्धि हुनुका साथै भविष्यमा यस्ता आयोजना सञ्चालन गर्न आवश्यक दक्षता विकास हुने विश्वास गरिएको छ ।

खानेपानी जस्तो आधारभूत सेवामा आधुनिक प्रविधि भित्रिनु सन्धिखर्कका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । पानीको स्रोत संरक्षणदेखि वितरण प्रणालीसम्म वैज्ञानिक व्यवस्थापन गर्न सके भविष्यमा खानेपानी सङ्कट न्यून हुने अपेक्षा गरिएको छ ।

यस आयोजनालाई सफल बनाउन सन्धिखर्क नगरपालिका, उपभोक्ता समिति तथा स्थानीय सरोकारवाला निकायहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको समन्वय र उपभोक्ताको सक्रिय सहभागिताले आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।

आयोजना सम्पन्न भएपछि सन्धिखर्क क्षेत्रका करिब २० हजार जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् ।  लामो समयदेखि खानेपानीको अनियमित आपूर्ति, न्यून दबाब र स्रोतको अभावबाट प्रभावित उपभोक्ताले गुणस्तरीय र नियमित सेवा पाउने अपेक्षा गरिएको छ।

बढ्दो सहरीकरणसँगै देखिएको खानेपानी चुनौती समाधानका लागि सुरु हुन लागेको यो योजना सन्धिखर्कको पूर्वाधार विकासमा एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

विदेशी दातृ निकायको सहयोग, स्थानीय सरकारको समन्वय र उपभोक्ताको सहभागिताले आयोजना सफलतापूर्वक सम्पन्न भए सन्धिखर्कको खानेपानी व्यवस्थापनमा दीर्घकालीन सुधार आउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?