Butwal Today

सडक मर्मत नगरेपछि सियारीका सडकमा धान रोपेर विरोध

३० असार २०८३, मंगलवार
अ+
अ-

बुटवल । छुपुछुपु धान रोपेको यो खेत होइन सडक हो । रुपन्देहीको सियारी गाउँपालिका १ का वासिन्दाले सोमबार सडकमा धान रोपेका हुन् । बिग्रिएको सडक सरकारले मर्मत नगरेपछि आजित भएका सियारीवासीले सडकमा धान रोपेर विरोध जनाएका छन् ।

बिग्रिएको सडक सरकारले मर्मत नगरेपछि आजित भएका रुपन्देहीको सियारीवासीले भने सोमबार सडकमा धान रोपेर विरोध जनाएको स्थानीय निरु थापाले बताइन् । सङ्घीय सरकारले २ लेनमा बिस्तार गरेको सडक त्यसपछि मर्मत सम्भार नगर्दा खाल्डाखुल्डीले खेत जस्तै बन्दा हिलाम्मे सडकमा दुर्घटना बढेपछि सियारी गाउँपालिका १ का स्थानीले सोमबार सडकमा धान रोपेर विरोध गरेका हुन् । स्थानीय गौरी शंकर आमा समूह सियारीकी सचिव नेत्रादेवी पन्थीले सडक हिँड्नै नमिल्ने भएपछि धान खेत बनाउन सडकमै धान रोपेको बताइन् ।

सिद्धार्थ राजमार्गबाट ओमसतिया सियारी हुँदै तिलोत्तमा जोड्ने यो सडक सङ्घीय सरकारले २०७० सालमा २ लेनमा निर्माण गरेको थियो । करिब ३० किलोमिटर लम्बाइको यो सडकमध्ये सियारी १ मा पर्ने साढे ७ किलोमिटर सडक बिग्रिएर बिजोग बनेको छ ।

सडक बनाउन स्थानीय धेरै पटक पालिका धाए । नेता भेटे । तर, दैनिक ठुला उद्योगका मालबाहक सवारी गुड्ने सडक बिग्रिएर यो अवस्थामा आउँदा पनि मर्मत सम्भारमा कसैले ध्यान नदिएको सियारी १ का स्थानीय अमर पुन मगरले बताए ।

सियारी १ का स्थानीयसँगै वडाअध्यक्ष अरुण कुमार शाही पनि सडकमै देखिएका थिए । उनले स्थानीयसँगै आफू पनि सडक बनाउन लागि पर्ने बताए । सियारी १ का वासिन्दाले धान रोपेर अवरोध जनाएपछि सियारी गाउँपालिकाका अध्यक्ष, कर्मचारी लगायत त्यहाँ पुगेका थिए । स्थानीयले उनीहरूसामु पनि सडक बिग्रँदा दुख पाएको आक्रोश पोखेका थिए ।

स्थानीयले उनीहरूसामु पनि सडक बिग्रँदा दुख पाएको आक्रोश पोखेका थिए । स्थानीयको आक्रोशपछि गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले तत्काल सडक मर्मत गर्ने प्रतिबद्धता जनाए ।

उपदाधिकारीले तत्काल सडक मर्मत गर्ने प्रतिबद्धता जनाएपछि बल्ल स्थानीय केही रोकिएका थिए । सिद्धार्थ राजमार्गबाट ओमसतिया सियारी हुँदै तिलोत्तमा जोड्ने यो सडक बिस्तारमा आगामी वर्षका लागि पनि सङ्घीय सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । सडक बनाउन स्थानीयसँगै आफूले पनि सङ्घीय सरकारलाई दवाव दिने अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?