© 2026
लिमा । भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्व राष्ट्रपति अलेजान्ड्रो टोलेडोले स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको उल्लेख गर्दै मानवीय आधारमा माफी दिन सरकारसँग औपचारिक अनुरोध गरेका छन् ।
उनका कानुन व्यवसायीले सोमबार उक्त निवेदन सरकारसमक्ष पेस गरिएको पुष्टि गरेका छन् ।
एकासी वर्षीय टोलेडोले सरकारलाई बुझाएको लिखित निवेदनमा जेल जीवनका क्रममा आफ्नो स्वास्थ्य निरन्तर बिग्रिएको उल्लेख गर्दै चिकित्सकहरूले जुनसुकै बेला हृदयघात वा मस्तिष्क घात हुन सक्ने चेतावनी दिएको जनाएका छन् । सन् २००१ देखि २००६ सम्म पेरुको राष्ट्रपति रहेका टोलेडोले स्वास्थ्य अवस्थाका कारण मानवीय आधारमा रिहा गरिनुपर्ने माग गरेका हुन ।
उनका कानुन व्यवसायी कार्लोस टोरेसले एएफपीसँग कुरा गर्दै टोलेडोको स्वास्थ्य अवस्था चिन्ताजनक बनेकाले माफीको माग अपरिहार्य भएको बताए । उनका अनुसार रिहाइका लागि औपचारिक निवेदन सोमबार लिमा प्रशासनसमक्ष दर्ता गरिएको हो ।
टोलेडोको यो निवेदन केइको फुजिमोरीले पदभार ग्रहण गर्नुभन्दा करिब दुई साताअघि दर्ता गरिएको हो । केइको फुजिमोरी पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन भने टोलेडो उनका प्रमुख राजनीतिक प्रतिस्पर्धीमध्ये एक मानिन्थे ।
टोलेडोलाई सन् २०२४ मा ब्राजिलको निर्माण कम्पनी ओडेब्रेक्टसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार काण्डमा सार्वजनिक पूर्वाधार ठेक्काको बदलामा करोडौँ डलर घुस लिएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो । त्यसपछि सोही प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) मुद्दामा उनले अर्को वर्ष थप सजाय पनि पाएका थिए ।