Butwal Today

विद्यार्थी आदान–प्रदानदेखि एआई अनुसन्धानसम्म: लुम्बिनी–लखनउ विश्वविद्यालयबिच सहकार्य

२८ असार २०८३, आइतबार
अ+
अ-

नेपालगन्ज। नेपालगन्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय र भारतको प्रतिष्ठित लखनउ विश्वविद्यालयबिच शैक्षिक सहकार्यका लागि ऐतिहासिक सम्झौता भएको छ ।

शैक्षिक, प्राविधिक तथा अनुसन्धानका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने यस सम्झौतासँगै नेपाल–भारतबिचको उच्च शिक्षाको सम्बन्धलाई नयाँ आयाम दिने विश्वास गरिएको छ ।

सम्झौता पत्रमा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकाल र लखनउ विश्वविद्यालयका उपकुलपति प्राध्यापक जे.पी. सैनीले औपचारिक रूपमा हस्ताक्षर गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारीका अनुसार यो सहकार्यले दुवै छिमेकी मुलुकका प्राविधिक तथा प्राज्ञिक संस्थाबिच दीर्घकालीन सम्बन्धलाई संस्थागत रूप दिनेछ भने अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक साझेदारी विस्तार गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै उपकुलपति प्रा. डा. ढकालले यसलाई लुम्बिनी प्राविधिक विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानमा महत्त्वपूर्ण कोसे ढुङ्गा भएको बताए । उनले यस सहकार्यले विद्यार्थी, शिक्षक तथा अनुसन्धानकर्तालाई विश्व स्तरीय अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

त्यस्तै, लखनउ विश्वविद्यालयका उपकुलपति प्रा. जे.पी. सैनीले आफ्नो विश्वविद्यालयले सधैँ अन्तर्राष्ट्रिय शैक्षिक साझेदारीलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यो सहकार्य दुवै संस्थाका लागि समान रूपमा लाभदायी हुने बताए ।

सम्झौताअन्तर्गत दुवै विश्वविद्यालयबिच विद्यार्थी तथा शिक्षक आदान–प्रदान, संयुक्त अनुसन्धान, वैज्ञानिक प्रकाशन, अन्तर्राष्ट्रिय सम्मेलन, कार्यशाला, तालिम कार्यक्रम, पाठ्यक्रम विकास, प्रयोगशाला साझेदारी, नवप्रवर्तन तथा स्टार्टअप इन्क्युबेसन जस्ता क्षेत्रमा सहकार्य गरिनेछ ।

विश्वविद्यालयका अनुसार विशेष गरी इन्जिनियरिङ, कम्प्युटर विज्ञान, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विज्ञान, सूचना प्रविधि, साइबर सुरक्षा र डिजिटल रूपान्तरण जस्ता समकालीन विषयमा संयुक्त अनुसन्धानलाई प्राथमिकता दिइनेछ । साथै दिगो विकास र उद्यमशीलतासम्बन्धी कार्यक्रमहरू पनि सहकार्यको प्रमुख क्षेत्र रहनेछन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. नीरज केसीले यस सहकार्यबाट विद्यार्थीले प्रयोगमूलक र अन्तर्राष्ट्रिय स्तरको ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्ने बताए । उनका अनुसार यसले शिक्षण प्रणालीलाई थप आधुनिक, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउन मद्दत पुग्नेछ ।

परीक्षा नियन्त्रक जेन्टिल गौतमले सम्झौताबाट स्नातक तहदेखि विद्यावारिधि तहसम्मका विद्यार्थी, अनुसन्धानकर्ता तथा शिक्षकहरू प्रत्यक्ष लाभान्वित हुने बताए । उनले संयुक्त सुपरिवेक्षण, अनुसन्धान क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय प्राज्ञिक सञ्जाल विस्तार तथा सीप विकासका अवसरले दुवै विश्वविद्यालयको शैक्षिक स्तरलाई थप उकास्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार भविष्यमा यो सहकार्यलाई संयुक्त डिग्री कार्यक्रम, अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, भ्रमणकारी प्राध्यापक कार्यक्रम तथा संयुक्त अनुसन्धान प्रकाशनसम्म विस्तार गर्ने योजना रहेको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. नीरज केसी, अनुसन्धान निर्देशक डा. प्रदीप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम र सेवा आयोग सदस्य कृष्णप्रसाद घिमिरेको उपस्थिति रहेको थियो ।

लखनउ विश्वविद्यालयका तर्फबाट इन्जिनियरिङ तथा प्रविधि संकायका डिन प्रा. सत्येन्द्र पाल सिंह, र्याङ्किङ सेलकी निर्देशक प्रा. गीताञ्जली मिश्रा, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक प्रा. आर.पी. सिंह तथा कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका सह–प्राध्यापक डा. सी.एल.पी. गुप्ता सहभागी थिए ।

दुवै विश्वविद्यालयका नेतृत्वले यो सम्झौताले नेपाल–भारतबिचको शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै दक्षिण एसियामा सीमापार ज्ञान आदान–प्रदान, अनुसन्धान र प्राविधिक नवप्रवर्तनको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन् । विश्वविद्यालयका अनुसार यस सहकार्यले आगामी दिनमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा समग्र प्राविधिक समुदायका लागि अन्तर्राष्ट्रिय अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?