© 2026
बुटवल । रुपन्देही प्रहरीले बैङ्किङ कसुर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ । सैन मैना नगरपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–दीपनगर बस्दै आएकी पार्वती पन्त पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पौडेलले जग्गा खरिद–बिक्रीको कारोबारका क्रममा दिएको ११ लाख रुपैयाँ बराबरको चेक जानाजानी भुक्तानी हुन नदिने उद्देश्यले बैङ्कमा रोक्का गराएको आरोप लागेको छ । उक्त घटनापछि पीडित पक्षको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार पौडेलले सैन मैना निवासी सम्राट् चन्द (बजाज)बाट जग्गा खरिद गरी नामसारी (पास) सम्पन्न भएपछि भुक्तानी स्वरूप ११ लाख रुपैयाँको चेक दिएकी थिइन् । तर, चेक प्राप्त गरेलगत्तै उनी आफैं बैङ्कमा पुगेर चेकबुक हराएको भन्दै उक्त चेकको भुक्तानी रोक्न निवेदन दिएको आरोप छ ।
पीडित सम्राट् चन्दले आफूले पाएको चेक बैङ्कमा साट्न जाँदा भुक्तानी रोक्का गरिएको जानकारी पाएपछि आफू आर्थिक रूपमा ठगिएको भन्दै प्रहरीमा उजुरी दिएको बताएका छन् । प्रहरीले पीडितको जाहेरी तथा प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ पुर्जी कार्यान्वयन गर्दै पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा पठाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले पक्राउ परेकी महिलामाथि बैङ्किङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपालको बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कुनै व्यक्तिले जानीजानी चेक जारी गरी खातामा पर्याप्त रकम नराख्ने, चेकको भुक्तानी रोक्ने वा प्राप्त कर्तालाई आर्थिक हानि पु¥याउने उद्देश्यले बैङ्कलाई भुक्तानी रोक्न निर्देशन दिएमा त्यो बैङ्किङ कसुर मानिन्छ ।
ऐन अनुसार कसुर प्रमाणित भएमा चेकमा उल्लेख भएको रकम पीडितलाई भराइ दिनुपर्ने, बिगो बराबर जरिवाना लाग्न सक्ने, कैद सजाय हुने वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । हाल पक्राउ परेकी महिलामाथिको आरोप अनुसन्धानको क्रममा रहेकाले अन्तिम दोषी वा निर्दोष भन्ने विषय अदालतको निर्णयबाट मात्र टुङ्गो लाग्नेछ ।