Butwal Today

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो सञ्चालन प्रभावित

२५ असार २०८३, बिहीबार
अ+
अ-

दाङ । दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन नसक्दा नेपाल आयल निगमको हवाई इन्धन डिपोको सञ्चालन प्रभावित भएको छ। नियमित रूपमा जहाज नआउँदा इन्धन बिक्री न्यून रहेको निगमले जनाएको छ।

नेपाल आयल निगम डिपो कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा १ हजार लिटर, जेठमा ६६० लिटर र चालु असार महिनामा हालसम्म ८३४ लिटर हवाई इन्धन बिक्री भएको छ। उनका अनुसार आर्थिक वर्ष २०८१ ८२ मा कुल १७ हजार ९०९ लिटर इन्धन बिक्री भएको थियो भने चालु आर्थिक वर्षमा हालसम्म ३४ हजार ३४ लिटर बिक्री भइसकेको छ।

मासिक औसत बिक्री २ हजार ८४६ लिटर रहेको उनले जानकारी दिए। देवकोटाले नियमित हवाई उडान सञ्चालन भए इन्धन बिक्री बढ्नुका साथै डिपोको आम्दानी पनि वृद्धि हुने बताए। सातामा चार दिन उडान हुने भनिए पनि अधिकांश समय दुई दिन मात्रै उडान हुन्छ, कतिपय साता त कुनै उडान नै हुँदैन,’ उनले भने। हाल टरिगाउँ विमानस्थलमा हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेको नेपाल आयल निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?