Butwal Today

ज्यामिरे खोलामा पुल बनेपछि मात्रै बाटो खोल्ने तयारी

२५ असार २०८३, बिहीबार
अ+
अ-

दाङ । घोराही उपमहानगरपालिका–१२ अन्तर्गत पर्ने पाडे ज्यामिरे खोलामा २८ मिटर लामो ट्रस्ट पुल निर्माण सम्पन्न भएको छ । तर, पुलसँग जोडिने सडक भने अझै निर्माण भएको छैन । अहिले पुल बनेपछि मात्रै सडकको ट्र्याक खोल्ने तयारी थालिएको छ ।

संघीय सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा करिब साढे ३१ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो । सामान्यतया सडक निर्माणपछि पुल बनाइने भए पनि यहाँ भने पुल निर्माण सम्पन्न भएपछि मात्रै सडक निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

घोराही–१२ तल्लो गुरौ निवासी तथा प्रावि पेदामा कक्षा ५ मा अध्ययनरत सीमा पुनले वर्षायाममा विद्यालय आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको बताइन् । विद्यालय जाने क्रममा पर्ने ज्यामिरे खोलामा बाढी आउँदा आवतजावत नै जोखिमपूर्ण हुने गरेको उनको भनाइ छ ।

‘खोलामा बाढी आउँदा विद्यालय जान धेरै समस्या हुन्थ्यो । अहिले पुल बनेपछि सहज भएको छ,’ उनले भनिन् ।

स्थानीय रुपा पुनले पुल नहुँदा साना छोराछोरीलाई आफैं विद्यालयसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको बताइन् । वर्षायाममा खोलाले बगाउने हो कि भन्ने चिन्ताले सताउने गरेको उनको अनुभव छ ।

‘पुल बनेपछि छोराछोरी आफैं विद्यालय आउजाउ गर्न थालेका छन् । अब निकै ढुक्क भएको छ,’ उनले भनिन् । ‘जुनसुकै कामका लागि घोराही बजार पुग्नुपर्छ । सडक बनेपछि दूरी छोटो हुनेछ र आवतजावत पनि सहज हुनेछ ।’

पुल निर्माण उपभोक्ता समितिका सचिव विष्णु सेनले पुल निर्माणसँगै स्थानीयवासी र विद्यार्थीलाई ठूलो राहत पुगेको बताए । उनका अनुसार पुल नहुँदा वर्षायाममा खोलाले बाटो छेक्ने भएकाले स्थानीयले लामो दूरी घुमेर यात्रा गर्नुपर्ने अवस्था थियो ।

पूर्वमा ज्यामिरे गाउँ, पश्चिममा कालाठुटा र दक्षिणमा गुरौ गाउँ रहेका कारण यो पुल स्थानीयका लागि निकै महत्वपूर्ण रहेको उनले बताए । गुरौमा ८०, नौलाकोटमा ६ र ज्यामिरेमा ५ घरधुरी रहेका छन् ।

वडा नम्बर १२ का अध्यक्ष द्रोण बहकारीले कालाठुटादेखि खरीबोट हुँदै गुरौ जाने सडकमा पर्ने पाडे ज्यामिरे खोलामा संघीय र स्थानीय सरकारको संयुक्त लगानीमा पुल निर्माण गरिएको जानकारी दिए ।

उनले अब पुलसँगै सडकको ट्र्याक खोल्ने कामलाई पनि प्राथमिकताका साथ अघि बढाइने बताए ।

घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीले स्थानीय सरकार नागरिकका आवश्यकता अनुसार विकास योजना सञ्चालन गर्दै आएको बताइन् ।

‘वडा कार्यालयबाट आएका मागका आधारमा योजना छनोट गरी कार्यान्वयन गरिन्छ । पुल निर्माणपछि स्थानीय नागरिकको आवतजावत सहज भएको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?