Butwal Today

गणेश नेपालीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मुगुका २६ वर्षीय गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासी युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले काठमाडौं महानगर प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै ‘बेरोजगारलाई गरिखान दे’, ‘घटनाको निष्पक्ष छानबिन गर’, ‘नागरिक मार्न पाइँदैन’ र ‘राज्य आतंक बन्द गर’ लगायतका नारासहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध पनि नाराबाजी गरिएको थियो। प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। घटनाअघि उनको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीद्वारा ह्वील लक लगाइएपछि विवाद भएको बताइएको छ।

गणेशका आफन्तका अनुसार उनी राइड–सेयरिङको काम गर्दै आएका थिए र महानगर प्रहरीले पटक–पटक दुःख दिएको गुनासो उनले गर्ने गरेका थिए। उनका जेठान पदम नेपालीले पनि अत्यधिक जरिवाना र आर्थिक दबाबका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गर्दै उपचार खर्च व्यवस्थापनमा कठिनाइ भइरहेको बताएका छन्।

हाल गणेश नेपालीको वीर अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ। गणेश पत्नी र करिब तीन वर्षीया छोरीसँग भक्तपुरमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?