Butwal Today

असार २५ र २६ गते पनि राहदानी वितरण सेवा सुचारु रहने

२४ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा रूपान्तरण गर्ने तयारी स्वरूप आगामी दुई दिन राहदानीसम्बन्धी नियमित सेवाहरू स्थगित हुने जनाएको छ । यद्यपि, तयार भइसकेका राहदानी वितरण सेवा भने नियमित रूपमा सञ्चालन हुने विभागले जनाएको छ ।

विभागले बुधबार जारी गरेको सूचनाअनुसार असार २५ र २६ गते राहदानीसम्बन्धी नियमित सेवाहरू बन्द रहनेछन् । विभागका अनुसार आगामी असार २९ गतेदेखि हाल सञ्चालनमा रहेको प्रणालीलाई पूर्ण रूपमा नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ । सोही प्रणाली स्तरोन्नतिको कार्यका कारण दुई दिन सेवा स्थगित गर्न लागिएको हो ।

विभागले आफ्नो मोबाइलमा राहदानी सङ्कलनसम्बन्धी जानकारीमूलक सन्देश (एसएमएस) प्राप्त गरिसकेका सेवाग्राहीलाई उक्त अवधिमै विभागमा सम्पर्क गरी राहदानी बुझ्न अनुरोध गरेको छ ।

विभागका अनुसार नयाँ प्रणाली कार्यान्वयनमा आएपछि राहदानी सेवा थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुनेछ । यसअघि पनि विभागले असार १९ गते सूचना जारी गर्दै प्रणाली स्तरोन्नतिका कारण केही समय सेवा प्रभावित हुने जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?