Butwal Today

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

२४ असार २०८३, बुधबार
अ+
अ-

पर्वत ।  जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका स्वास्थ्य संस्थामा सुत्केरी भएका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ ।

पालिकाको लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट ‘उपाध्यक्षको सुत्केरी पोषण’ कार्यक्रमअन्तर्गत उक्त वस्तु उपलब्ध गराइएको हो ।

स्वास्थ्य संस्थामा नगई घरमा नै सुत्केरी गराउने परम्परालाई अन्त्य गर्ने  र  आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत संस्थागत सुत्केरी भएका नौ वटा वडाका १४९ जनालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

“विसं २०८२ साउनदेखि असार मसान्त तेस्रो हप्तासम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गरिएको हो”, उनले भने, “पालिकाकै किसानले उत्पादन गरेको अण्डा र घ्यू खरिद गरेर वितरण गरेका हौँ ।”

सुत्केरी तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श दिने गरिएको बताइन ।

पालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले २०८१ साउनदेखि निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको बताए । उपाध्यक्ष दीपक आचार्यले महिलालाई स्वास्थ्यप्रति सजग बनाउँदै आमा र बच्चालाई स्वास्थ्य राख्नका लागि ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ लागु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?