Butwal Today

लुम्बिनी प्रदेशमा थारू परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित

२४ असार २०८३, बुधबार
अ+
अ-

दाङ । लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत बुधबार राति बसेको १८औँ बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरे।

थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयकले थारू समुदायमा परम्परागत रूपमा प्रचलित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सालगायत मौलिक परम्पराको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि आवश्यक कानुनी व्यवस्था गरेको छ।

प्रदेश सभाबाट पारित भएको विधेयक ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन सम्बन्धी ऐन, २०८३’ का रूपमा तत्काल लागू हुनेछ। यो ऐन लुम्बिनी प्रदेशभित्र थारू समुदायको बसोबास रहेका क्षेत्रमा कार्यान्वयन हुने व्यवस्था गरिएको छ। यस ऐनले थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा, परम्परागत सामाजिक अभ्यास तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?