© 2026
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडा अध्यक्ष देउकुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्। प्रहरीका अनुसार वडा अध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका करिब १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक र मुखबाट रगत बगेको अवस्थामा सुतेकै स्थानमा मृत फेला परेका थिए।
घटनापछि मृतकका बुवा खेमबहादुर आङदेम्बेले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा ज्यान सम्बन्धी कसुरमा लिखित जाहेरी दिएका थिए। त्यसपछि २०८३ असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि देउकुमार आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन्।
उक्त जाहेरीका आधारमा जिल्ला अदालत पाँचथर, फिदिमले २०८३ असार १० गते पक्राउ अनुमति जारी गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले २०८३ असार २३ गते फिदिम नगरपालिका–४ स्थित फिदिम बजारबाट आङदेम्बेलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका आङदेम्बेलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराई सात दिनको म्याद थप अनुमति लिएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।