© 2026
काठमाडौँ । यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभर धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागको तथ्यांकअनुसार हालसम्म देशभर कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
गत वर्ष यही अवधिमा देशभर ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा रोपाइँको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ ।
सुदूरपश्चिममा धान खेती हुने कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यो कुल क्षेत्रफलको ५७.९ प्रतिशत हो । गत वर्ष यही अवधिमा यहाँ ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो ।
सुदूरपश्चिमपछि गण्डकी प्रदेशमा ४१ प्रतिशत रोपाइँ भएको छ । गण्डकीमा धान खेती हुने ९३ हजार ६ सय ६ हेक्टर क्षेत्रफलमध्ये ३८ हजार ३ सय ८९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
त्यसैगरी, कर्णाली प्रदेशमा धान खेती हुने ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर अर्थात् ४०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो ।
लुम्बिनी प्रदेशमा धान खेती हुने ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशतमा मात्र रोपाइँ भएको छ । यो गत वर्षको ५२.१ प्रतिशतको तुलनामा उल्लेख्य रूपमा कम हो ।
बागमती प्रदेशमा पनि गत वर्ष यही अवधिमा ५१.९ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ३३.२ प्रतिशतमा सीमित भएको छ । यहाँ कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
तथ्यांकअनुसार कोसी प्रदेशमा धान खेती हुने २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशतमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा भने यहाँ २९.५ प्रतिशत रोपाइँ भएको थियो ।
धान उत्पादनको प्रमुख केन्द्र मानिने मधेस प्रदेशको अवस्था भने यस वर्ष पनि निराशाजनक देखिएको छ । देशकै सबैभन्दा बढी ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा असारको तेस्रो सातासम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको छ । यो कुल क्षेत्रफलको १५.६ प्रतिशत मात्र हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा कम हो । गत वर्ष यही अवधिमा मधेसमा २५.१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।