© 2026
बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको लुम्बिनी प्रदेश समितिको प्रथम एकता प्रदेश स्तरिय बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी नेतृत्वले महाधिवेशनपछि नयाँ चरणको आन्दोलन सुरु गर्ने, संगठन पुनर्गठनलाई तीव्र बनाउने तथा वामपन्थी एकतालाई सुदृढ गर्ने रणनीति अघि सारेको छ। कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड (प्रचण्ड), सहसंयोजक माधव कुमार नेपाल संगठन विभाग प्रमुख बर्षमान पुन तथा अनुगमन विभागका संयोजक नारायण काजी श्रेष्ठले वर्तमान राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशा, संगठन विस्तार तथा अन्तर्राष्ट्रिय भू–राजनीतिक परिस्थितिबारे आफ्नो आफ्नो धारणा राखेका थिए।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी संयोजक प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानको सुरुवात आफ्नो पार्टीले गरेको दाबी गर्दै अब त्यसलाई अझ सशक्त रूपमा अघि बढाइने बताए। उनले अहिलेको अवस्थामा गणतन्त्र र संघीयताको पक्षमा उभिएका राजनीतिक शक्तिसँग सहकार्य गर्न पार्टी तयार रहेको उल्लेख गरे। तर, देशलाई विध्वंसतर्फ लैजान खोज्ने र अहंकारी प्रवृत्ति बोकेका शक्तिसँग कार्यगत सहकार्य हुन सक्ने भए पनि पार्टी एकता सम्भव नरहेको स्पष्ट पारे।
प्रचण्डले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ कुनै स्वतःस्फूर्त आन्दोलन नभई बाह्य शक्तिको योजनाअन्तर्गत भएको ठूलो षड्यन्त्र भएको दाबी गरे। नेपालको भू–राजनीतिमा हस्तक्षेप गर्दै भारत र चीनलाई नियन्त्रण गर्ने आधारभूमि बनाउन इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत त्यस्तो गतिविधि सञ्चालन गरिएको उनको आरोप छ। उनले पार्टीको केन्द्रीय महाधिवेशनपछि फेरि नयाँ आन्दोलनको नयाँ चरण सुरु हुने घोषणा गर्दै सम्पूर्ण नेता–कार्यकर्तालाई त्यसका लागि तयार रहन निर्देशन दिए। महाधिवेशनपछि पार्टीभित्र नयाँ जिम्मेवारी र फरक भूमिकाका बाट आफु प्रस्तुत हुने समेत उनले बताए। पार्टी पुनर्गठन, रूपान्तरण र नेतृत्व हस्तान्तरणको अभियानलाई अब तीव्र बनाइने उनले बताए।
सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई सिद्धान्त, विचार, मार्गदर्शन र स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए। युवा पुस्ताले पदको आकांक्षाभन्दा जिम्मेवारी र कामलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले नेपाली कांग्रेस र एमाले दुवै राजनीतिक संकटमा रहेको टिप्पणी गरे। उनले २६ घटकबीच पार्टी एकीकरण हुँदा विशेष परिस्थितिका कारण केन्द्रीय सदस्य संख्या धेरै भएको उल्लेख गर्दै अब संगठनलाई वास्तविक रूपमा एकीकृत बनाउने, जिम्मेवारी बाँडफाँट गर्ने, नयाँ सदस्य विस्तार गर्ने तथा सदस्यता नवीकरणलाई सहज बनाउने काम प्राथमिकतामा राखिने बताए।
नेपालले राजनीति जनताबाट सुरु भएर जनतामै पुग्ने प्रक्रिया भएको उल्लेख गर्दै समाजमा न्याय र समानता स्थापना गर्दै मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली समाजवाद निर्माण गर्नुपर्ने धारणा राखे। “खराब प्रवृत्ति बोकेर कम्युनिष्ट पार्टी अघि बढ्न सक्दैन,” उनले भने।
संगठन विभाग प्रमुख वर्षमान पुनले पार्टीले आफ्ना कमजोरीहरूको आत्मसमीक्षा गर्दै वर्तमान भू–राजनीतिक द्वन्द्वको गहिरो विश्लेषण गरेको बताए। कम्युनिष्ट आन्दोलन, पार्टी परिचालन र संगठन सञ्चालनका विषयमा समीक्षा गरिएको उल्लेख गर्दै उनले दक्षिणपन्थी विचलनबाट जोगिनुपर्ने आवश्यकता रहेको बताए। आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरणको तयारी भइरहेको उनको भनाइ थियो। पुनले विश्वका विभिन्न मुलुकमा देखिएका ‘कलर रिभोलुसन’देखि ‘जेनजी आन्दोलन’सम्मको अध्ययन गर्दा बाह्य शक्तिको चलखेल, नेतृत्वविहीन आन्दोलन र डिजिटल माध्यमको व्यापक प्रयोग समान विशेषताका रूपमा देखिएको बताए। यस्ता आन्दोलनहरू धेरै देशमा तीव्र गतिमा फैलिएको र कतिपय अवस्थामा हिंसात्मक समेत बनेको उल्लेख गर्दै उनले सूचना प्रविधि र डिजिटल माध्यमको प्रयोगलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती अहिलेको प्रमुख विषय भएको बताए।
उनले अबको राजनीतिमा कम्तीमा ५० प्रतिशत युवालाई मूलधारमा ल्याउनुपर्ने आवश्यकता भएको बताए । भदौ र असोज महिनाभित्र पालिका तथा जिल्ला अधिवेशन सम्पन्न गरी मंसिर १५ गते पार्टीको महाधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए। नेपाली कम्युनिष्ट आन्दोलनका सकारात्मक अभ्यासहरूको समीक्षा गर्दै डिजिटल पुस्तालाई पार्टीको जिम्मेवारीमा जोड्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। आफ्ना कार्यक्षेत्रमा ठोस योजना बनाएर वस्तुगत ढंगले काम गर्न उनले कार्यकर्तालाई निर्देशन दिएका थिए ।
अनुगमन विभागका संयोजक नारायणकाजी श्रेष्ठले नेपाली क्रान्ति र नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले स्थापित गर्ने उद्देश्यका साथ पार्टी पुनर्गठनको अभियान अघि बढिरहेको बताए। अहिले साम्राज्यवादी शक्तिहरूको पहिलो योजना नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने रहेको उनको दाबी थियो। उनले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पार्टी पुनर्गठन र रूपान्तरणको बाटोमा अघि बढिरहेको बताए। राष्ट्रियता, लोकतन्त्र, संघीयता, राष्ट्रिय सार्वभौमसत्ता तथा स्वाधीनताको रक्षाका लागि सम्पूर्ण वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको उनको भनाइ थियो। श्रेष्ठले पार्टी एकताको उद्देश्य एउटा संगठन विस्तार मात्र नभई रूपान्तरण र पुनर्गठन भएको स्पष्ट पारे। नेपालमा मौलिक बाटोबाट सम्पन्न लोकतान्त्रिक क्रान्तिका उपलब्धिहरू संविधानमार्फत संस्थागत गर्न ठुलो योगदान गरेको स्मरण गर्दै अहिले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै संकट देखिएको बताए। बाह्य साम्राज्यवादी शक्तिहरू आक्रामक रूपमा सक्रिय भएकाले राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षा अहिलेको मुख्य राजनीतिक दायित्व भएको उनको भनाइ थियो।
बैठकमा लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण, सदस्यता वितरण, जिल्ला तहको कार्यविभाजन, प्रदेश सचिवालय गठन, कार्यसमन्वय समिति निर्माण, जनसंगठन तथा विभागीय जिम्मेवारी निर्धारण, पालिका र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँट, कार्यालय व्यवस्थापन तथा आर्थिक व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
पार्टीका अनुसार लुम्बिनी प्रदेशमा हाल २६६ जना केन्द्रीय सदस्य रहेका छन्। महाधिवेशनअघि संगठन विस्तार, सदस्यता अभियान, राजनीतिक प्रशिक्षण, युवा परिचालन तथा पार्टी पुनर्गठनलाई तीव्र बनाउने निर्णय बैठकले गरेको छ।