Butwal Today

‘इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत जेनजी विद्रोह गराइयो’ प्रचण्ड

२० असार २०८३, शनिबार
अ+
अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ स्वतःस्फूर्त नभई इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत बाह्य शक्तिले योजनाबद्ध रूपमा सञ्चालन गरेको षड्यन्त्र भएको दाबी गरेका छन्।

पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको भू–राजनीतिक अवस्थालाई प्रयोग गरेर भारत र चीनलाई नियन्त्रण गर्न नेपाललाई वेस बनाउन रणनीतिअन्तर्गत उक्त आन्दोलन सञ्चालन गरिएको आरोप लगाए। उनका अनुसार नेपाललाई बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको आधारभूमि बनाउने प्रयासस्वरूप जेनजी आन्दोलन अघि बढाइएको थियो।

प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानको सुरुवात आफ्नो पार्टीले गरेको दाबी गर्दै अहिले पनि त्यस अभियानलाई निरन्तरता दिइरहेको बताए। उनले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र सामाजिक न्यायको पक्षमा पार्टी दृढतापूर्वक उभिएको उल्लेख गरे। उनले वर्तमान राजनीतिक परिस्थितिमा गणतन्त्र, संघीयता र संविधानको रक्षामा प्रतिबद्ध राजनीतिक शक्तिसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट पारे। तर देशलाई विध्वंसतर्फ लैजान खोज्ने तथा अहंकारी प्रवृत्ति बोकेका शक्तिसँग कार्यगत सहकार्य हुन सक्ने भए पनि पार्टी एकता भने कुनै पनि हालतमा सम्भव नरहेको बताए।

प्रचण्डले अहिले नयाँ रूपमा उदाइरहेका ‘राइट पपुलिस्ट एन्टि–सोसियलिस्ट’ शक्तिहरूले समाजवादी विचार र परिवर्तनका उपलब्धिमाथि प्रहार गरिरहेको आरोप लगाए। यस्ता प्रवृत्तिप्रति सचेत रहँदै कम्युनिष्ट आन्दोलनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनले पार्टीको केन्द्रीय महाधिवेशनपछि आन्दोलनको नयाँ चरण सुरु हुने घोषणा गर्दै सम्पूर्ण नेता–कार्यकर्तालाई त्यसका लागि तयारी अवस्थामा रहन निर्देशन दिए। महाधिवेशनपछि पार्टीभित्र जिम्मेवारीको पुनःविन्यास हुने र आफू पनि फरक भूमिका तथा जिम्मेवारीमा रहने संकेत उनले गरे। पार्टी पुनर्गठन, वैचारिक रूपान्तरण र नेतृत्व हस्तान्तरणलाई अब तीव्र गतिमा अघि बढाइने उल्लेख गर्दै प्रचण्डले संगठनलाई जनतासँग अझ नजिक पुर्‍याउने, नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने र पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

उनले आगामी राजनीतिक संघर्ष सुशासन, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र जनअधिकारको पक्षमा केन्द्रित हुने उल्लेख गर्दै पार्टीका सम्पूर्ण तहका नेता–कार्यकर्तालाई जनतामाझ सक्रिय भएर संगठन विस्तार, वैचारिक प्रशिक्षण र जनसम्पर्कलाई प्रभावकारी बनाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?