Butwal Today

पाँचौँ भुम्या पर्व कतारमा धूमधामका साथ मनाइयो

२० असार २०८३, शनिबार
अ+
अ-

दोहा,कतार । विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति र पहिचानलाई जोगाइराख्ने उद्देश्यका साथ नेपाल मगर सङ्घ शाखा कतारले स्थापना काल देखी नै निरन्तरता दिँदै आएको भुम्या पर्व यस वर्ष पनि कतारमा धूमधामका साथ मनाइएको छ ।

नेपाल मगर सङ्घ शाखा कतारले विगतमा वर्षहरूमा जस्तै यो वर्ष पनि मगर समुदायको मौलिक सांस्कृतिक एवं धार्मिक पर्व “पाँचौँ भुम्या पर्व” तथा आफ्नो २६औँ वार्षिकोत्सव, ११औँ राष्ट्रिय मगर भेला भव्य रूपमा  मनाएको हो ।

शुक्रवार दोहास्थित प्लाजा मलमा रहेको बेलफेयर रेस्टुरेन्टको सभा हलमा विधिगत रूपमा भूमे पुजारीले कुल देवता तथा प्रकृतिका शक्तिहरूको स्मरण गर्दै भूम्या पर्वको पूजा तथा आराधना गरेका थिए ।

मगर समुदायमा भूम्या अर्थात् जमिन, माटो, भूमि, भुईँ तथा समग्र प्रकृतिको प्रतीक मानिने भएकाले प्रकृतिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै पूजा गरिएको थियो । पूजाका क्रममा बाढी, पहिरो, खडेरीलगायत प्राकृतिक विपत्तिबाट जनधन तथा अन्नबालीको रक्षा होस्, समुदायमा सुख, शान्ति, समृद्धि र सहअस्तित्व कायम रहोस् भन्ने कामनासहित आ आफ्नो परम्परा र स्थानीय प्रचलनअनुसार बलि अर्पण गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

विविध सांस्कृतिक समेत रहेको कार्यक्रममा मगर समुदायका मौलिक गीत, नृत्य तथा परम्परागत भूम्या नृत्य प्रस्तुत गरिएको थियो ।
नेपाल मगर सांस्कृतिक परिवारमा आबद्ध रहेका दर्जनौँ कलाकारहरूको प्रस्तुति तथा सहभागीहरूको सक्रिय सहभागिताले सभा हल पूर्ण रूपमा मगर संस्कृतिमय बनेको थियो । मौलिक भेस भूषा, सांस्कृतिक प्रस्तुति र उल्लेखनीय सहभागिताले कार्यक्रमलाई स्मरणीय बनाएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरूलाई मगर संस्कृतिअनुसार फेटा लगाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सङ्घकी प्रथम उपाध्यक्ष देवीकुमारी मगरले भनाई राखेकी थिइन् भने उपमहासचिव तथा कार्यक्रम संयोजक दीपक एक्वाइ मगरले कार्यक्रमको उद्देश्य तथा पर्वका बारेमा प्रकाश पारेका थिए । औपचारिक कार्यक्रम सम्पन्न भएपछि सुरु भएको ११औँ राष्ट्रिय मगर भेलामा सङ्घले वर्षभर गरेका गतिविधि, प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष राकेश श्रेष्ठले कार्यक्रममा बोल्दै  मगर समुदाय सधैँ एकताको सूत्रमा बाँधिएर अघि बढेको समुदाय भएको उल्लेख गर्दै यही एकताले समुदायलाई अझ बलियो बनाएको बताए । उनले प्रवासमा आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउनु सबैको साझा दायित्व भएको बताउँदै मौलिक भेसभुसामा ठुलो सङ्ख्यामा उपस्थित समुदाय देख्दा अत्यन्त गर्व लागेको धारणा व्यक्त गरे ।

उनले प्रारम्भिक दिनमा कतारमा आफ्नो मौलिक पोसाकमा सार्वजनिक रूपमा उपस्थित हुन कठिनाइ रहेको स्मरण गर्दै अहिले ठुलो सङ्ख्यामा समुदाय आफ्नो संस्कृति र पहिचानसहित उपस्थित हुनु गर्वको विषय भएको बताए ।

नेपाल मगर सङ्घ शाखा कतारका अध्यक्ष समीर थापा मगरले नेपाल सरकारले हालै भूम्या पर्वलाई सांस्कृतिक पर्वका रूपमा सूचीकृत गरेकोमा खुसी व्यक्त गरे । उनले यो निर्णयले मगर समुदायको सांस्कृतिक पहिचानलाई थप संस्थागत मान्यता दिएको उल्लेख गर्दै संस्थापक सदस्यदेखि वर्तमान कार्यसमितिसम्म सबैको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

मगर समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, पहिचान तथा सामाजिक एकतालाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कतारमा रहेका मगरहरूको उल्लेख्य उपस्थिति रहेको थियो  ।

“भूम्या पर्वले मानव र प्रकृतिबिचको घनिष्ठ सम्बन्धलाई आत्मसात् गर्दै वातावरण संरक्षण, प्राकृतिक सन्तुलन र सामूहिक समृद्धिको सन्देश प्रवाह गर्ने समेत विश्वास रहेको छ। विशेष गरी नेपालको पश्चिमी पहाडी भेगका मगर समुदायले परम्परागत रूपमा यो पर्व मनाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?