© 2026
बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अनुगमन विभागका संयोजक नारायण काजि श्रेष्ठले वर्तमान परिस्थितिमा नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा अनुशासित र जनतासँग गहिरो रूपमा जोडिएको शक्तिका रूपमा पुनर्गठन गर्नु आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्।
नेकपाको लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले जनताको विश्वास जित्ने व्यवहार, नीति र कार्यक्रममार्फत निराशावाद, पलायनवाद र यथास्थितिवादलाई चिर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने बताए। उनले पार्टी केन्द्रले क्रान्तिकारी आशावादका साथ आगामी कार्यक्रम र कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए।
“युवालाई ५० प्रतिशत सहभागिताको कुरा भाषणमा मात्रै होइन, व्यवहारमै लागू गर्नुपर्छ,” भन्दै श्रेष्ठले पार्टीको रूपान्तरण नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारीमा स्थापित नगरी सम्भव नहुने धारणा राखेका थिए । उनले नेपाली क्रान्ति र नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले स्थापित गर्ने उद्देश्यका साथ पार्टी पुनर्गठनको अभियान अघि बढिरहेको उल्लेख गर्दै अहिले साम्राज्यवादी शक्तिहरूको पहिलो योजना नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने रहेको दाबी गरे।
श्रेष्ठले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सही विश्लेषण गर्दै पार्टी पुनर्गठन र रूपान्तरणको बाटोमा अघि बढिरहेको बताए। राष्ट्रियता, लोकतन्त्र, संघीयता, राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि सम्पूर्ण वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको उनको भनाइ थियो।उनले पार्टी एकताको उद्देश्य केवल संगठन विस्तार नभई वैचारिक रूपान्तरण र संगठनात्मक पुनर्गठन भएको स्पष्ट पारे। नेपालमा मौलिक बाटोबाट सम्पन्न लोकतान्त्रिक क्रान्तिका उपलब्धिहरू संविधानमार्फत संस्थागत भएको उल्लेख गर्दै उनले अहिले संविधान र लोकतान्त्रिक व्यवस्थामाथि चुनौती देखिएको बताए।
बाह्य साम्राज्यवादी शक्तिहरू आक्रामक रूपमा सक्रिय भइरहेका कारण राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षा गर्नु अहिलेको मुख्य राजनीतिक दायित्व भएको उल्लेख गर्दै श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई जनतासँग जोडिएको, अनुशासित र वैचारिक रूपमा स्पष्ट शक्तिका रूपमा पुनर्संगठित गर्नुपर्नेमा जोड दिए।
उनले वर्तमान राजनीतिक परिवेशमा उदाइरहेको दल ‘राइट पपुलिस्ट एन्टि–सोसियलिस्ट’ शक्ति राष्ट्रवादी, जनलोकप्रिय शैली अपनाउने तर समाजवादी विचारधारा र नीतिको विरोध गर्ने दक्षिणपन्थी राजनीतिक प्रवृत्ति भएको दाबी गरे। उनले सरकारले ल्याएको बजेटमा समाजवाद उन्मुख अर्थतन्त्र र समाजवाद उन्मुख राज्यको नारा देखिए पनि व्यवहारमा त्यसअनुसारका नीति र कार्यक्रम नदेखिएको टिप्पणी गरे।
उनले निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुने प्रवृत्तिप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै नेकपाको यात्रा सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा निरन्तर अघि बढ्ने बताए। उनले आफ्नो पार्टी सरकारमा रहेको भए देशमा ‘जेनजी आन्दोलन’ जस्तो अवस्था सिर्जना नहुने दाबीसमेत गरे।