© 2026
भैरहवा । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा शुक्रबार भैरहवामा १२ जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ। “अग्रज पत्रकार सम्मान, लेखनवृत्ति वितरण तथा फेलोशिप कार्यक्रम” अन्तर्गत लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका अग्रज पत्रकारहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा नारायण सापकोटा, लक्ष्मीनाथ ज्ञवाली, रामेश्वर भट्ट, बालकृष्ण चापागाईं, बूंद राना, प्राडा गितु गिरी, मदनलाल पौडेल, बद्री पाण्डे, देवी पाण्डे, नारायण ज्ञवाली, करुणानिधि शर्मा र गोविन्दबन्धु अर्याल रहेका छन्। महासंघका सचिव सीपी खनालका अनुसार कार्यक्रममार्फत पत्रकारहरूको योगदानको उच्च कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले स्वतन्त्र, निष्पक्ष, जिम्मेवार र उत्तरदायी पत्रकारिताको भूमिका लोकतान्त्रिक समाजका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। पत्रकारहरूले नागरिकलाई सत्य, तथ्य र विश्वसनीय सूचना उपलब्ध गराउँदै राज्यका नीति, कार्यक्रम तथा सार्वजनिक सेवाको प्रभावकारिता नागरिकसम्म पुर्याउने र नागरिकका आवाज सम्बन्धित निकायसम्म पुर्याउने पुलको भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो।
नगर प्रमुख खानले पत्रकारिता सूचना सम्प्रेषणको माध्यम मात्र नभई समाजलाई सही दिशा दिने, जनचेतना अभिवृद्धि गर्ने, सुशासन प्रवर्द्धन गर्ने तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउने सशक्त माध्यम भएको उल्लेख गरे। सूचना प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको विस्तारसँगै सञ्चार क्षेत्रमा नयाँ चुनौती थपिएको भन्दै उनले अनुसन्धानमुखी, उत्तरदायी र निष्पक्ष पत्रकारिताको आवश्यकता अझ बढेको धारणा व्यक्त गरे। लेखनवृत्ति कार्यक्रमले पत्रकारहरूको ज्ञान, क्षमता, लेखनशैली तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले स्थानीय मुद्दा, विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, कृषि तथा महिला–बालबालिकाका अधिकारसँग सम्बन्धित विषयमा गुणस्तरीय र तथ्यपरक सामग्री उत्पादन गर्न यसले थप प्रेरणा दिने बताए।
नगर प्रमुख खानले सिद्धार्थनगर नगरपालिका प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा पारदर्शिता, सुशासन तथा उत्तरदायी सार्वजनिक सेवा प्रवाहप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सञ्चार क्षेत्रसँगको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी र सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, सिद्धार्थनगर नगरपालिकाका पूर्वप्रमुख हरि अधिकारी तथा पत्रकारिता, प्राज्ञिक र सामाजिक क्षेत्रका विभिन्न अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।