© 2026
काठमाडौं । ‘नेपाली ब्रो’ भनेर परिचित कुमार थापामगरविरुद्ध आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या अभियोगमा चलिरहेको मुद्दाले नयाँ मोड लिएको छ। अदालतमा पेश गरिएको अभियोगपत्रमा उनका जेठा छोरा जेनिस थापासँग लिभ–इन सम्बन्धमा रहेकी एक युवतीको विस्तृत बयान समावेश भएपछि घटनाका थप पाटा सार्वजनिक भएका हुन्।
बयानअनुसार ती युवतीको जेनिस थापासँग करिब दुई वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो। सम्बन्ध प्रेममा परिणत भएपछि विदेश जाने तयारीका क्रममा काठमाडौं आएकी उनी ईश्वरी भुजेलको सहमतिमा जेनिससँग एउटै घरको माथिल्लो तलामा लिभ–इन सम्बन्धमा बस्न थालेकी थिइन्। कुमार थापामगर भने भुईँतलाको फ्ल्याटमा बस्ने गरेका थिए।
उनले कुमार थापामगरले आफू र जेनिसको सम्बन्ध कहिल्यै स्वीकार नगरेको दाबी गरेकी छन्। गाउँघरमा आफूलाई घरमा काम गर्ने युवतीका रूपमा चिनाउने, नुहाउँदा वा लुगा फेर्दा चिहाएर हेर्ने जस्ता अनुचित व्यवहार गर्ने गरेको आरोप पनि उनले लगाएकी छन्। त्यसविपरीत ईश्वरी भुजेलले आफूलाई छोरीसरह माया गर्ने र सधैं ‘छोरी’ भनेर सम्बोधन गर्ने गरेको उनको भनाइ छ।
बयानमा परिवारभित्रको दाम्पत्य सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको उल्लेख छ। कुमार थापामगरको अर्को महिलासँग सम्बन्ध रहेको आशंकाका कारण श्रीमान्–श्रीमतीबीच पटक–पटक विवाद, कुटपिट र मेलमिलाप हुने क्रम चलिरहने गरेको उनले बताएकी छन्। काठमाडौंस्थित हिल्टन होटलमा जन्मदिन मनाउने क्रममा उक्त महिलालाई भेट्ने प्रयास गरिएको भए पनि उनी फेला नपरेको पनि बयानमा उल्लेख गरिएको छ।
उनका अनुसार प्रतीक्षा आचार्यसँग कुमार थापामगरको प्रेम सम्बन्धबारे चर्चा बाहिरिएपछि घरको विवाद थप चर्किएको थियो। त्यसपछि प्रहरीमा उजुरी परेको, प्रहरीबाट पटक–पटक सम्झाइबुझाइ भएको, ईश्वरी भुजेलले वैवाहिक करणीको मुद्दा दायर गरेपछि कुमार पक्राउ परेर धरौटीमा छुटेको र सम्बन्धविच्छेदको मुद्दासमेत अदालतमा पुगेको जानकारी आफूले पाएको उनले बताएकी छन्।
धरौटीमा छुटेपछि पनि कुमार थापामगरले मुद्दाको रिसमा घरमै आएर कुटपिट गर्न खोज्ने, ग्यास सिलिन्डर पड्काएर मार्ने प्रयास गरेको र परिवार तथा छिमेकीको सम्झाइबुझाइपछि त्यस घटनामा उजुरी नदिइएको दाबी बयानमा गरिएको छ। परिवार अलग–अलग फ्ल्याटमा बस्न थालेपछि पनि उनले निरन्तर ‘मारी दिन्छु’ र ‘काटिदिन्छु’ भन्दै धम्की दिने गरेको आरोप युवतीले लगाएकी छन्। कहिले अदालतमा रहेका मुद्दा मिलाउन दबाब दिने र कहिले अर्को महिलासँगको सम्बन्ध नत्याग्ने अडान लिएपछि विवाद दोहोरिने गरेको पनि बयानमा उल्लेख छ।
घटनाको दिन २०८३ जेठ २२ गते ईश्वरी भुजेल कार्यालयको कार्यक्रममा सहभागी भएकाले ढिलो घर फर्किने जानकारी दिएकी थिइन्। सोही राति करिब ८ बजे कुमार थापामगर हरियो कारमा घर आएर कान्छा छोरा इभानलाई पठाइदिन दबाब दिएको र आफूले अस्वीकार गरेपछि ‘तिमीहरू सबैको छाला काट्छु’ भन्दै धम्की दिएको युवतीको दाबी छ।
राति अबेरसम्म ईश्वरीसँग सम्पर्क हुन नसकेपछि जेनिसले पटक–पटक फोन गरेको र अन्ततः एक अपरिचित व्यक्तिले फोन उठाएर उनी रगताम्य अवस्थामा सडकमा फेला परेको जानकारी दिएको बयानमा उल्लेख छ। उपचारका लागि अस्पताल लैजाने क्रममा ईश्वरी भुजेलको मृत्यु भएको पनि बयानमा भनिएको छ।
युवतीको यो बयान अदालतमा दर्ता गरिएको अभियोगपत्रको अंश हो। यी आरोपहरू मुद्दाको न्यायिक प्रक्रियामा परीक्षण हुने विषय भएकाले अदालतबाट अन्तिम फैसला भइसकेको छैन।