Butwal Today

लड्डु र कुसले सत्कार गर्दै बाँके राष्ट्रिय निकुञ्जमा परम्परागत हात्ती पूजा सम्पन्न

१९ असार २०८३, शुक्रबार
अ+
अ-

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा रहेका सरकारी हात्तीहरूको बिहीबार विशेष पूजा–आराधना गरी परम्परागत ‘असारे हात्ती पूजा’ सम्पन्न गरिएको छ ।

संरक्षण, संस्कृति र मानव–वन्यजन्तु सहअस्तित्वको सन्देश बोकेको यो परम्परा प्रत्येक वर्ष असार महिनामा मनाइँदै आइएको छ । निकुञ्ज अन्तर्गत खड्गवार हात्तीसारमा आयोजित पूजामा हात्तीसारमा रहेका ६ वटा हात्तीलाई विशेष रूपमा सिंगारेर पूजा गरिएको थियो ।

पूजा पश्चात् हात्तीहरूलाई उनीहरूको मन पर्ने लड्डु, उखु, केरा, कुसलगायतका विभिन्न खानेकुरा खुवाएर सम्मान प्रकट गरिएको थियो ।
वन तथा वातावरण संरक्षणसँग सम्बन्धित निकायका प्रतिनिधि, निकुञ्जका कर्मचारी, महावत तथा स्थानीय बासिन्दाको सहभागितामा सम्पन्न कार्यक्रममा हात्तीप्रति कृतज्ञता व्यक्त गर्दै संरक्षणको सन्देश फैलाइएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले हात्ती पूजा केवल धार्मिक परम्परा मात्र नभई मानव र वन्यजन्तुबिचको सहअस्तित्वलाई बलियो बनाउने महत्त्वपूर्ण अभ्यास भएको बताए । उनका अनुसार निकुञ्जमा गस्ती, वन्यजन्तु उद्धार, अनुसन्धान तथा संरक्षणका विभिन्न गतिविधिमा हात्तीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

उनले भने, “हात्ती पूजा हाम्रो सांस्कृतिक परम्परासँग जोडिएको मात्रै होइन, वन्यजन्तुप्रति सम्मान र संरक्षणको भावना अभिवृद्धि गर्ने अवसर पनि हो । यसले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन क्षेत्रको संरक्षणमा सकारात्मक सन्देश दिन्छ ।”

निकुञ्जका अनुसार असारे पूजासँग स्थानीय समुदायको धार्मिक आस्था पनि गाँसिएको छ । मध्यवर्ती क्षेत्रका बासिन्दाले यस पूजामार्फत जङ्गली हात्तीबाट खेतीपाती तथा अन्नबालीमा हुने क्षति कम होस् भन्ने कामना गर्ने गरेका छन् । साथै वन क्षेत्रमा खटिने महावत र हात्तीहरूको सुरक्षा, स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै पूजा गर्ने परम्परा रहँदै आएको छ ।

निकुञ्जका दरोगा शालिकराम यादवले हात्ती पूजा संरक्षणप्रतिको जनचेतना बढाउने प्रभावकारी माध्यम भएको बताए । उनका अनुसार यसले हात्ती र मानवबीचको सम्बन्धलाई अझ सौहार्दपूर्ण बनाउनुका साथै जैविक विविधता संरक्षणप्रति समुदायलाई थप जिम्मेवार बनाउने काम गर्दछ ।
वन संरक्षण र जैविक विविधताको महत्त्वपूर्ण आधार मानिने हात्तीप्रति सम्मान प्रकट गर्ने यो परम्पराले प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय समुदायको भावनात्मक सम्बन्धलाई समेत मजबुत बनाउँदै आएको छ ।

बाँके राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले ६ वटा हात्ती मात्र रहेका छन् । ती हात्तीहरू निकुञ्जको संरक्षण, गस्ती तथा वन्यजन्तु व्यवस्थापनका विभिन्न कार्यमा सक्रिय रूपमा प्रयोग हुँदै आएका छन् । प्रकृति, संस्कृति र संरक्षणको सुन्दर संगमका रूपमा रहेको असारे हात्ती पूजाले यस वर्ष पनि मानव र वन्यजन्तुबिचको सहअस्तित्वलाई अझ सुदृढ बनाउने सन्देश प्रवाह गरेको संरक्षणकर्मीहरूको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?