© 2026
बुटवल । बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमअन्तर्गत परिमार्जन गरिएको ‘हाम्रो बुटवल’ पुस्तक नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क वितरण गरेको छ। यस वर्ष २४ हजारभन्दा बढी थान पुस्तक वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ।
शुक्रबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले विभिन्न विद्यालयका प्रधानाध्यापकलाई पुस्तक हस्तान्तरण गर्दै वितरण कार्यको शुभारम्भ गरेका हुन्। यसअघि सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्रै उपलब्ध गराइँदै आएको ‘हाम्रो बुटवल’ पुस्तक यसपटकदेखि संस्थागत विद्यालयका विद्यार्थीलाई पनि निःशुल्क उपलब्ध गराइएको छ। स्थानीय इतिहास, भूगोल, संस्कृति, सम्पदा तथा बुटवलको पहिचानबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले पुस्तक वितरणको दायरा विस्तार गरिएको हो।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले आफ्नो कार्यकालमा बुटवलको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै करोडौं रुपैयाँ लगानी गरिएको उल्लेख गरे। उनले शिक्षा क्षेत्रमा गरिएको लगानीको सकारात्मक प्रभाव देखिन थालेको दाबी गर्दै स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नै नगरको इतिहास, संस्कृति र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
बुटवल उपमहानगरपालिकाको शिक्षा तथा सामाजिक विकास महाशाखाका प्रमुख मित्रमणि खनालका अनुसार यसअघि प्रकाशित ‘हाम्रो बुटवल’ पुस्तकलाई आवश्यक परिमार्जन र अद्यावधिक गरी पुनः प्रकाशन गरिएको हो। उनका अनुसार यसपटक संस्थागत विद्यालयका करिब १७ हजार र सामुदायिक विद्यालयका करिब ७ हजार विद्यार्थीका लागि गरी २४ हजारभन्दा बढी पुस्तक वितरण गरिनेछ।
उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यार्थीलाई स्थानीय ज्ञान, संस्कृति र सम्पदाप्रति थप सचेत बनाउने उद्देश्यका साथ पुस्तक वितरण कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।